असार १५ धुमधाम मनाइदैं

काठमाडौं, १५ आषाढ । आज (मंगलबार) असार १५ अर्थात् राष्ट्रिय धान दिवस । असार महिनाको १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा सर्वत्र रोपाईं गरिँदै छ । यसै दिन रोपाहारले रोपाई सकिएपछि दही चिउरा खाने भएकाले यो दिन दहि च्यूरा खाने पर्वका रुपमा पनि प्रसिद्ध छ । वैशाख १२ गतेको भूकम्पले जनजीवन केही अस्तव्यस्त पारेको भए पनि उपत्यकाका कतिपय ठाउँमा रोपाईको माहोल सुरु भइसकेको छ ।
चन्द्रागिरी नगरपालिकाअन्तर्गत मच्छेगाउँ, बलम्बु, तहचोकलगायतका स्थानमा मंगलबार रोपाईंको तयारी भइरहेको छ । ललितपुरको लेले, हरिसिद्धि, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा पनि रोपाईं सुरु भइसकेको छ । असार १५ का दिन रोपाहार र किसानलाई निकै कामको चटारो हुने भएकाले अरु बेला कामको चटारो गर्दा असार १५ लागेको छ भन्ने उक्ति चलनचल्तीमा छ ।