चिली कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौं, १५ आषाढ । पेरुलाई हराउँदै आयोजक चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु समर्थक र मैदानको साथ पाएर निकै हौसिएको चिलीले मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई २-१ ले हरायो । खेलको २० औं मिनेटमा पेरुका कार्लोस जाम्रानोले रातो कार्ड खाएपछि पेरु १० जनामा समेटियो ।
४२ औं मिनेटमा एडुवार्डो भार्गासले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिए । ६० औं मिनेटमा चिलीकै ग्यारी मेडेलले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । तर यसको ४ मिनेटमै भार्गासले ब्यक्तिगत दोस्रो गोल गरेपछि चिली २-१ ले विजयी भयो । जितसँगै चिली छैटौं पटक कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । तर दक्षिण अमेरिकी फुटबलको अभागी टोली चिलीले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन् । चिलीले अब फाइनलमा बुधबार हुने अर्जेन्टिना र पाराग्वेबीचको दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ ।