रुपन्देही सामाजिक सञ्जालको चौँथो अधिवेशन सम्पन्न : अध्यक्षमा दिवाकर काफ्ले चयन

सिड्नी । नेपालको रुपन्देही जिल्ला घर भई हाल विभिन्न सिलसिलामा अस्ट्रेलियामा कार्यरत नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा दिवाकर काफ्ले चयन भएका छन । सञ्जालको शनिवार सम्पन्न चौँथो अधिवेशनबाट काफ्लेको अध्यक्षतामा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा रजिंता भण्डारी, महासचिवमा सुचना पाण्डे, सचिवमा कमल चापागाई र कोषाध्यक्षमा प्रदिप पन्थीलाई चयन गरिएको छ । अधिवेशनले सांस्कृतिक संयोजकमा प्रदिप खनाल, महिला संयोजकमा गायत्री पौड्याल, परियोजना संयोजकमा कमल भण्डारी, खेलकुद संयोजकमा सरोज पाठक, पब्लिक रिलेसन अफिसरमा राजन खड्का र आईटी संयोजकमा सरोज पाण्डेलाई चयन गरेको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा योगेश पराजुली, पदम अधिकारी, झ्याङ्झी खरेल, राजु खनाल, संयोग गौतम, सुनिता न्यौपाने, रे खरेल, शंकर शर्मा, घनश्याम पाण्डे, बसन्त भण्डारी र श्रृजना खड्का गैरे लगायत रहेका छन ।

अधिवेशनमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले सामान्य च्यारिटी कार्यक्रम मार्फत रुपन्देही सामाजिक सञ्जालले सामाजिक क्षेत्रमा अनुकरणीय कार्य गरेको बताएका थिए । उनले अन्य संस्थाले पनि यो कार्यलाई पछ्याएर अगाडी बढ्नुपर्ने भन्दै राजदूताबासले संस्था संग आवश्यक सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमकै अवसरमा अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला डा. सिर्जना शर्मा र बालबालिकाको क्षेत्रका काम गर्ने राम कोईरालालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालले गैर आवासीय नेपाली सघंलाई भुकम्प पीडितहरुलाई सहयोग गर्ने गरी १ हजार डलर चेक  कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष अनिल पोखरेल लाई  सञ्जालका निवर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले हस्तान्तरण गरे।

कार्यक्रममा फेन्का उपाध्यक्ष  डा. मधुसुदन पुडासैनी, गैर आवासीय नेपाली संघका सचिब डा. ज्ञानेन्द्र रेग्मी , एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल  लागयतले सञ्जालले  पुर्याएको योगदानको चर्चा गरेका थिए भने  कार्यक्रममा गैर आवासीय नेपाली संघका पदाधिकारी , प्रबासी एकतामँचका केन्द्रिय उपाध्यक्ष रमेश पाण्डे,  विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधि तथा नेपाली अभिभावकहरु, सञ्चारकर्मी तथा रुपन्देही सामाजिक सञ्जालमा आबद्ध सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

रुपन्देही सामाजिक सञ्जाल निवर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले आफ्नो कार्यकालको मुख्य कामका बारेमा चर्चागर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।  २०१५ सालमा स्थापना भएको सञ्जालले हालसम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्तकृत अनाथ तथा अपाङ्ता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण, मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम , अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण , उत्प्रेरणामुलक जीवन उपयोगी ज्ञानमूलक सत्संग अभिमुखिकरण , साहित्यिक तथा सांस्कृतिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम , महिलाहरुको तिज कार्यक्रम , नेपाली तथा अग्रेंजी नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु ,अक्षयकोष मार्फत असहाय बालबालिकाहरुलाई शैक्षिक अध्ययनमा सहयोग लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । आगामि दिनमा स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत  जानकारी मूलक भिडियो समेत देखाइको थियो ।