बेलायतको लिभरपुलमा नेपाली सांस्कृतिक समाजले हर्षोउल्लास गर्दै खेल्यो देउसी भैलो

लन्डन ।  नेपाली सांस्कृतिक समाज युके  (Nepali Cultural Society)NCS UK -ले  लिभरपुलमा देउसी भैलो कार्यक्रम गरेको छ।

समाजले तिहारको अवसरमा Liverpool शहरमा नेपाली महान पर्व “तिहार” को परम्परागत ढंगबाट श्री गणेशाय नमो: तथा इतीश्री समाप्तम: गरी भव्य देउसी भैलो खेल्ने कार्यक्रम गरेको हो ।

प्रत्येक बर्ष झैं यस बर्षको तिहारको “घर-दैलो देउसी-भैलो” पनि प्राय: सबै नेपाली परिवारको घर-आँगनमा गई धुमधाम तथा हर्षोउल्लासका साथ मनाउने अवसर पाए।

अध्यक्ष गोपाल अधिकारी, उपाध्यक्ष नेत्र खरेल, महा-सचिव कृष्णा गुरुङ लगायत सबै सदस्यहरुको सक्रिय तथा सबल सहभागिता रहेको एकमात्र नेपाली चाड “तिहार” यस वर्ष पनि सबै Liverpool वासीहरुले धुमधामका साथ मनाउन पाए। सहभाग र सहभागी हुनेहरु कै अथक प्रयासले गर्दा यो “तिहारको घर-दैलो देउसी-भैलो” कार्यक्रम सफल भएको हो ।

नेपाल राष्ट्रिय नांच घरका कथक तथा भरत नाट्यम: कलाकार संजय लामा र आधुनिक-लोकशैलीका नृत्य नायिका सपना परियारको नृत्य प्रस्तुतीले सबै नेपाली परिवारहरु मन्त्रमुग्ध अनि मोहनी लागे झैं नृत्य हेर्नमा मक्ख थिए, कसैलाई यसो आँखा अन्तै तार्ने फुर्सद समेत थिएन, देउसी भैलोका अनुदानका थालीहरुको ओइरो लागेका लागे थिए, सबैका अनुहारहरु हर्षले प्रफुल्लित र भाव-विभोर थिए।

NCS UK का सदस्य बहिनीद्वय – बर्षा खरेल र गीता कुँवर, मिना कंडेल, रेखा ढकालका देउसी भैलो नृत्य-नन्दिनीहरु अति नै रोमान्चित र गौरवान्वित थिए। आफ्ना काम व्यस्तताका बाबजुद पनि वहाँहरुले आफ्ना समय निकालेर नेपाली संस्कार र परमपराको पहिचान निरन्तरताका लागि ठुलो योगदान दिनु भयो ।

देउसी-भैलो भट्याउन पोख्त द्वय – धन गुरुङ – नेत्र खरेल, मिना कंडेल – कृष्णा भट्टराई – कृष्णा गुरुङ हरुका भूमिका पनि धेरै नै महत्वपूर्ण थिए, बिषेशत: देउसी गीत आकर्षित र लय-बद्ध बनाउनु नै तिहारको परम्परागत शैलीलाई यथावत् कायम गर्नु पर्ने भएकोले गीत भट्याउने क्रममा सबैले अतुलनीय सहभागिता जनाउनु भयो।

कार्यक्रम अत्यन्तै सौहार्द र पारिवारिक वातावरणमा भएको समाजले जनाएको छ । देउसी भैलो कार्यक्रममा लिभरपुल क्षेत्रका नेपालीहरु उपस्थित भएका थिए ।