संविधानको मस्यौदा आज संविधानसभामा पेश गरिने

काठमाडौं, १४ असार । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा सोमबार संविधानसभाको बैठकमा पेश गर्ने भएको छ । दलहरुबीच केही विषयमा विवाद रहे पनि समितिले पहिलो मस्यौदा परिमार्जनसहित पारित गरेपछि सोमबार बस्ने संविधानसभाको बैठकमा पेश गर्ने भएको हो । मस्यौदा समितिको आइतबार बसेको वैठकमा पनि सवै विषयमा सहमति जुट्न नसकेपछि संविधानसभामै छलफल गर्ने गरी सर्वसम्मत रुपमा मस्यौदा बुझाउने तय भएको हो ।
दलहरुबीच धर्म निरपेक्षता की धार्मिक स्वतन्त्रतता, न्यायाधीशहरुको पुर्नियुक्ति, नागरिकता, जिल्ला राख्ने नराख्ने लगायतका विषयमा सहमति जुट्न सकेको छैन । ती विषयहरु सम्बन्धि आ–आफ्ना अडान संविधान सभामा पेश गरी छलफल गर्ने सहमति पनि मस्यौदा समितिमा भएको नेताहरुले जानकारी दिएका छन् ।
मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले तयार गरेको संविधान मस्यौदाको प्रारम्भिक खाकामा समितिले संविधान संशोधन र अंगीकृत नागरिकता लगाउनका प्रावधानमा हेरफेर गरे पनि अन्य महत्वपूर्ण सैद्धान्तिक विषयमा सामान्य भाषिक परिमार्जन मात्र गरेको छ । मस्यौदा समितिका सभापति सिटौलाले संविधानको प्रस्तावमा उल्लेखित आधारभूत विषयको संशोधन पनि संघीय संसद्को दुई तिहाईबाट गर्न सकिने प्रावधान राख्न सकिने अवस्थामा पुगिएको बताए ।
उनले कार्यदलको प्रस्तावमा केही सदस्यको फरक मत र केहीमा सुझाव प्राप्त भएको भन्दै अधिकांशले राखेका सुझावलाई परिमार्जनका रुपमा र केहीले उठाएका विषयलाई सुझावका रुपमा अघि बढाउने निर्णय भएको जानकारी दिए ।