एनबीसी यूकेले पवित्र सेबा समाजलाई गर्र्यो १० लाखको शैक्षिक सामग्री हस्तान्तरण

शिब भण्डारी

लण्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी यूके) ले पवित्र समाज सेवा नेपालका लागि सहयोग प्रदान गरेको छ ।लामो समयदेखि सामाजिक तथा परोपकारी क्षेत्रमा सक्रिय एनबीसी युकेले पवित्र समाज सेवा नेपालका लागि पुस्तकालय स्थापना गर्नुका साथै ५ वटा कम्प्यूटर, क्याल्कुलेटर सहित ४८ जना एकैपटक बसेर पढ्न र खान मिल्ने गरी डायनिङ टेबल र कुर्ची सहयोग गरेको हो

गत शुक्रवार पवित्र समाज सेवा नेपाल, बुढानिलकण्ठ ४, काठमाण्डौ स्थित समाजसेवी एवम् ९० वर्षीय बयोवृद्ध गंगाराम ओझाले उक्त पुस्तकालयको उद्घाटन गरेका हुन् ।

उक्त पवित्र समाज सेवा नेपालमा विभिन्न कारणले घरबाट निकालिएका, सडकमा सुत्न बाध्य, फोहोरको थुप्रोमा प्लाष्टिकमा भेटिएका बालबालिकाहरु लगायत पीडामा रहेका व्यक्तिहरु बुढानिलकण्ठमा बालबालिकाहरु देखि बृद्धबृद्धासम्म बस्दै आएका छन् । लामो देखी असहाय बलबालिका तथा वृद्धवृद्धाको लालन पालन सेवामा सक्रिय छन् पबित्र समाज सेबा नेपालकी अध्यक्ष दिक्षा चापागाई ।

बेलायत स्थित एनबीसी यूकेले २ अप्रिल आइतबार सांझ आफ्नो १३ औँ बार्षिकोत्सव संगै नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम गरेको थियो ।

उक्त च्यारिटी कार्यक्रमबाट संकलित रकमबाट नाम जस्तै पवित्र कार्यमा सक्रिय समाजलाई सहयोग गरिएको एनबीसी यूकेका अध्यक्ष राजेन्द्र ओझाले लन्डन नेपाल न्युज लाई बताए दिए । ओझाले पवित्र समाजमको दु:ख पीडामा संस्थाले सक्दो सहयोग गरेको बताए ।

पूर्व अध्यक्ष मिलन घिमिरेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताए ।

पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लोकप्रिय कलाकारहरु एलिना चौहान, सुमन कार्की र अन्जली अधिकारीले जोडदार प्रस्तुति दिएका हुन्

कार्यक्रममा झण्डै ३ सय जनाको उपस्थितिमा भएको उक्त च्यारिटी कार्यक्रमबाट ५ हजार ९ सय ९६ पाउण्ड संकलन भएको र सोही रकमबाट संस्थालाई सहयोग गरिएको एनबीसी यूकेका कोषाध्यक्ष खेमराज जोशीले जानकारी दिए ।पुस्तकालय संगै कम्प्यूटर, डायनिङ टेबल, कुर्ची र अन्य सामाग्रीमा नेपाली १० लाख रुपैयाँ खर्च भएको उनको भनाई छ ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष राजेन्द्र ओझा सगैं उनकी धर्मपत्नी सुनिता ओझा, पूर्व अध्यक्ष मिलन घिमिरे सहित उनकी धर्मपत्नी मिना घिमिरे, समाजसेवीहरु होमनाथ ओझा, लोकेन्द्र तिम्सिना, कृष्ण श्रेष्ठ, चन्द्रकला तिवारी, दिलिप ओझा, सन्तोष ओझा, सुजन ओझा लगायत स्थानीय व्यक्तिहरु गरी झण्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो।

संस्थाकी सञ्चालिका दिक्षा चापागाईँले परदेशमा बसेर श्रम र पसिना बगाएर कमाएर आफनो र परिवारको गाँस कटाएर गरेको सहयोगले ठुलो महत्व राख्ने भन्दै आफुहरुकोे ठुलो खाँचो पुरा भएको बताईन् । चापागाईँले आफ्नो संस्थाका लागि यो सहयोग अहिलेसम्मकै ठुलो सहयोग रहेको भन्दै बुढा बुवा आमा र बालबालिकाहरुको आशिर्वाद लाग्ने बताईन् । उनले यो सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिन्।