दिदी बहिनी ईभेन्टसको रमाईलो साँझ भव्य रुपमा सम्पन्न

 सिड्नी । दिदी बहिनी ईभेन्ट्स अस्ट्रेलियाले रमाईलो साँझ भव्य रुपमा सम्पन्न गरेको छ । १६ जुलाई आईतबार सिड्नीको रकडेल स्थित ईन्द्रेणी फंक्सन सेन्टरमा रमाईलो साँझ भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रममा चर्चित टेलिभिजन शो “यक्ष प्रश्न”का प्रस्तोता एवम् चर्चित पत्रकार राजेन्द्र बानियाँले अस्ट्रेलियामा भएका नेपालीहरुको माया र सदभावको कारणले गर्दा आफु पटक पटक अस्ट्रेलिया आउने अवसर पाएको भन्दै यो कार्यक्रम होष्ट गर्न पाउँदा खुसी लागेको बताए । उनले निकै उत्साहजनक तरिकाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले दिदी बहिनी ईभेन्ट्सले गरेको काम सह्रानीय रहेको भन्दै भन्दै नेपालबाट कलाकारहरु बोलाएर नेपाली कला र संस्कृतिको प्रवद्र्धन गरेको बताए । उनले एनआरएनए अस्ट्रेलियाले पनि यस ईभेन्ट्ससगं जोडिएर काम गरेको स्मरण समेत गरेका थिए । फरक प्रसंगमा गुरुङ पछिल्लो समय एनआरएनएले लामो समयदेखि उठाउँदै आएको गैर आवासीय नागरिकहरुको नागरिकताको विषय सम्बोधन हुने गरी नागरिकता विधेयक कार्यान्वयनमा गएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा नेपालबाट आएका र अस्ट्रेलियामा रहेका कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुती दिएका थिए । नेपालबाट आएका कलाकारहरुले पुराना सर्जकहरुका कालजयी गीतहरु प्रस्तुत गर्दा माहोल निकै सांगीतिक बनेको थियो । भने सहभागीहरु छमछमी नाचेका थिए । नेपालबाट आएका कलाकारहरु युवराज चौलागाईं, बेनिशा पौडेल र माया गुरुङ तथा स्थानीय कलाकारहरु जेनिशा गौतम, किरण सम्राट, रमन रेग्मी, प्रतिमा थापा बस्नेत, ईश्वर पोखरेल अबिरल, निशा केसी, सञ्जीव पराजुली, रोशन रेग्मी, विजय केसी, बिक्रम शर्मा, प्रदीप खनाल, अदिश गैरेले प्रस्तुती दिएका थिए । कार्यक्रममा लाईभ दोहोरी समेत प्रस्तुती गरिएको थियो । दोहोरीतर्फ माया गुरुङ, निशा केसी, अदिशा गैरे, विजय केसी, बिक्रम शर्मा, प्रदीप खनालले दोहोरी गीत गाएर नेपालका विभिन्न भागका दोहोरी गीतहरुको प्रतिनिधित्व हुने गरी प्रस्तुती दिएका थिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ सहित एनआरएनए अस्ट्रेलियाका विभिन्न तहमा उम्मेदवारी दिएका उम्मेदवारहरु तथा उम्मेदवारका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने समुदायका व्यक्तिहरुको समेत उपस्थितिले रमझम सहित एनआरएनएको चुनावी झल्को दिएको थियो । दिदी बहिनी ईभेन्ट्सले विभिन्न कार्यक्रम गर्दा नयाँ कलाकारहरुलाई स्थान दिँदै उनीहरुलाई अगाडी बढाउन प्रोत्साहन गर्दै आएको छ ।