एनआरएनका नेता गणेश प्रसाइँ र राजकुमार महतलाई सम्मान गर्दै यूकेमा गठन भयो नागरिक समाज, को को आए ?

शिव भण्डारी,

लण्डन- नेपालमा जनआन्दोलनताका होस् वा संविधान र मानव अधिकार मुद्दामा होस्, सशक्त आवाज उठाएर आफ्नो बेग्लै छवी बनाउन सफल बुद्धिजिवीहरुको समूह नागरिक समाज बेलायतमा पनि गठन भएको छ ।

मंगलबार साँझ लण्डनमा एक कार्यक्रमबीच घोषणा गरिएको उक्त नागरिक समाजको अध्यक्षमा भूतपूर्व गोर्खा, समाजसेवी तथा एनआरएन अभियन्ता शेरबहादुर सुनार छन् । महासचिवको जिम्मेवारी कांग्रेस तथा एनआरएन नेता आरके त्रिपाठीले लिएका छन् ।

समाजले कुनै राजनीति, धर्म, लिंग वा जातजाती भन्दा टाढा रहेर नयाँ प्रतिभा तथा अग्रजहरुको सम्मान, खोज अनुसन्धान, नेपाली कला संस्कृतिको जगेर्ना तथा प्रचार प्रसार एवं मुलुकलाई अप्ठेरो पर्दा अग्रमोर्चामा आएर प्राज्ञिक सहयोग गर्ने उद्देश्य लिएको अध्यक्ष सुनारले बताए ।

बेलायतस्थित प्रवुद्द वर्गलाई समेटेर छिट्टै पूर्ण समिति बनाइने महासचिव त्रिपाठीले जनाए ।

यसैबीच, नागरिक समाज बेलायतले आफ्नो पहिलो कार्यक्रममा आयरल्यान्डका व्यवसायी तथा एनआरएन अभियन्ताहरुलाई सम्मान गरेको छ ।

एनआरएन आयरल्यान्डका संस्थापक अध्यक्ष गणेश प्रसाइँ, देवी प्रसाइँ, राजकुमार महत, विवेक सिवाकोटी, बालकृष्ण श्रेष्ठ, पत्रकार राजेन्द्र भट्ट, नेपालबाट आएका कलाकारहरु बबिता बस्नेत ‘जेरी’ र कृष्ण काफ्ले, उदानन्द बन्जाडे, निमकला बन्जाडे, अनिल महत, सुजाता महत, इश्वरी महत लगायतलाई सम्मान गरेको हो ।

साउथ ह्यारो लण्डनको गोल्डेनसीप रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नागरिक समाज बेलायतका अध्यक्ष शेर सुनार र एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले सम्मान गरे ।

मन्तव्यका क्रममा एनआरएन आयरल्यान्डका संस्थापक अध्यक्ष गणेश प्रसाइँले नागरिक समाजलाई शुभकामना दिंदै आफूहरुलाई पहिलो सम्मान गरेकोमा धन्यवाद दिए । अन्य वक्ताहरुले पनि नागरिक समाजलाई आफ्नो उद्देश्य अनुसार अगाडि बढ्न शुभकामना दिए ।

सो अवसरमा नेपालबाट आएका कलाकारहरु बबिता बस्नेत ‘जेरी’ र कृष्ण काफ्लेले आफ्नो सुमधुर गीतहरुमार्फत मनोरन्जन दिलाएका थिए । बेलायतका चर्चित डिजे हेम बिष्टले पनि माहोल रोमान्चक बनाए ।