फडिन्द्र भट्टराई
लन्डन ,शुक्रबार, आषाढ ४, २०७२, गोरखाका गणेश गुरुङले बेलायत आउनु पुर्व नै नेपाल बाटै एम बि ए र कानुनमा एल एल बि सिध्याएका हुन । सन् २००६ को बेलायत आगमन पछि लिड्स युनिभर्सिटी बाट एम एस सी समेत गरिसकेका उनी बेलायतमा बिगत पांच बर्ष देखी नेपाली रोधीघर रेस्टुरेण्ट संचालन गर्दै आएका छन । गुरुङले नेपालीहरुको बाक्लो वस्ती रहेको लन्डन नजिकैको शहर अल्डर्शटमा आफ्ना साथीहरुको सहयोगमा निरमाया रोधीघर सफल संचालनमा ल्याएका छन ।
स्टेजको लाईट बल्ना साथ भाद्गाउले कालो टोपी र स्टकोटमा सजिएका एक अधबैसे कलाकारले नमस्ते म गणेश गुरुङ भन्दै ग्राहकहरुलाई स्वागत गरे । गाउने र चलाउनेको नाम त जुधे छनि भन्दा संचालक गणेशले त्यसलाई संयोगको मात्र संज्ञा दिए । उहाको घर पनि गोर्खा नै हो राम्रो गाउनु हुन्छ भन्दै गर्दा नेपाली गुन्यो चोलीमा पहेलो पोते लर्काएका दुई महिलाहरु पनि स्टेजमै झुल्किए । उहाहरु महिला कलाकार दुर्गा परियार, निता पुन भनेर परिचय दिना साथ गित शुरु भई हाल्यो ,” यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, ….” । एक पछी अर्को दोहोरी र लोक गीत गाउने क्रममै कलाकर कै रुपमा गायक बद्रि केसी पनि प्रस्तुति संगै झुल्की राखे ।

” म आफै पनि सानै देखी गाउने बजाउनेमा रुचि राख्ने मान्छे परें “, तपाइँ यतिका पढेको मान्छेलाई यो रोधीघर तर्फ किन लाग्नु भयो भन्ने जिज्ञासा भुईमा खस्न नपाउदै उनी आफैले कुराको पोको खोल्न थाले । लिड्स युनिभर्सिटिको पढाइ सके पछी केहि समय सम्बन्धित फिल्डको काम पनि गरें, तर यस्तो रोधीघरको परिकल्पना भने मनमा पहिलै बसिसकेको थियो, बिदेशमा रहेको अर्को नेपाली पुस्ता माझ नेपाली संस्कृतिको जगेर्नाको साथ साथै व्यावसायिकता पनि हुने त्यसैले हेर्नुस …” उनले थप्दै गए ।
“एउटा म्यानेजमेन्ट कन्सल्टेन्सी संग पनि आवद्द छु, तर आफ्नै टाईम म्यानेजमेन्ट गर्न हम्मे हम्मे छ ” रेस्टुरेण्टका अलावा आफ्नै म्यानेजमेन्ट कन्सल्टेन्सी कम्पनि समेत चलाउदै आएका गुरुङ संग हामी गफगाफ मै थियौ । “कुनै पनि काम लाई सानो र ठुलोको दर्जामा राखेर हेरिनु हुदैन, मान्छेले त्यसबाट दिन सक्ने आउटकम लाई हेर्नु पर्दछ , खास गरेर नेपालमा त्यस्तो प्रवृति अलि बढी छ “, नेपालमा सडक विभागको रातिमा सडक सफा गर्ने देखी नर्वेजियन एम्बेस्सिमा प्रोजेक्ट कोअर्डीनेटर सम्मको कामको अनुभव बटुलेका गुरुङ कामकै सवालमा भन्छन ।
नेपाली लाहुरेको बाहुल्यता रहेको क्षेत्रमा रहेको निरमाया रोधीघरले नया र पुरानो पुस्ताको दुवै खाले ग्राहकको औधि माया पाएको छ । नेपाल बाहिर हरेक साँझ नेपाली कलाकार हरुले दैनिक प्रस्तुति दिने रोधीघरको रुपमा स्थापित यो एउटा मात्र नेपाली रेस्टुरेन्ट हो । नेपाल बाट बेलायत कार्यक्रम लिएर आउने चर्चित कलाकारहरुले पनि निरमायाका ग्राहक को लागि आफ्नो कला पस्किने गर्दछन । नेपाल बाट कलाकार ल्याउन पाउने बिशेष लाइसेन्स मार्फत आधा दर्जन भन्दा बढि कलाकारहरु वर्क परमिटमा ल्याइसकेको बताउछन रेस्टुरेण्टका संचालक गणेश गुरुङ ।
गीत संगीतको साथसाथै मोमो, साँधेको भटमास , सुकुटी, छोईला सेकुवा जस्ता टिपिकल नेपाली स्न्याक्स सहित दाल भात तरकारीका दर्जनौ परिकार ग्राहक सामु पस्किनु पनि निरमाया रोधीघरको एउटा मूल बिशेषता ठान्छन यसका पारखीहरु ।
” स्टेजमा हुने एक पछी अर्को प्रस्तुति संगै ग्राहकहरु अलि अलि तात्तिदै पनि जान्छन, पारिवारिक वातावरणको बिचमा दिईने मनोरंजनको कुशल व्यस्थापन समग्रमा यसको चुनौती हो” कतै नेपालमा जस्तो रेस्टुरेन्टमा झैँ झगडा त् हुदैन भन्ने सवालमा गुरुङ भन्छन, ” अहिले सम्म त्यस्तो ठुलो समस्या केहि परेको छैन” ।
साँझ ढल्किदै जाँदा स्टेजमा छरिता गीतहरुले प्रार्थमिकता पाइरहेका थिए । स्टेज अगाडि नाच्नको लागी खालि राखिएको ठाउमा नाच्नेहरुको भिड बढ्दै थियो । कम्मर मर्काउने हरुमा भर्खरका ठिटा ठिटी देखी उमेरले नेटो काटेकै होकी जस्तो देखिने हरु मनलाई बैसालु बनाउदै गरेको देखियो । ग्राहकको अनुरोधमै धेरैजसो नेपाली लोक गीत, अनि केहि आधुनिक र हिन्दी गीतहरु कलाकारहरु बाट अन्त्य सम्मै गुन्जी रहे ।
गित संगीतको गुन्जन संगै गुरुङ संग गफिदै गर्दा हामी उनको सामाजिक योगदानको पाटो फुकाउदै थियौ । समुदायको सेवामा सामाजिक रुपमा समेत राम्ररी सक्रिय रहेका गुरुङ बृद्द गोर्खा हरुलाई अंग्रेजी पढाउने देखी बिभिन्न अवेरनेस प्रोग्राम मा स्वयम् सेवा गर्ने गरेको बताउछन । रेस्टुरेण्टमै भुकम्प पिडितको लागी दान पात्र समेत राखेका उनले गोर्खाको आफुले पढेको स्कुलको भुकम्प पछिको पुनर्स्थापनार्थ व्यक्तिगत रुपमा दुई लाख पचास हजार सहयोग गरेका छन । च्यारिटेबल प्रोग्राम को लागी रेस्टुरेन्टमा पनि बिशेष छुटको व्यवस्था भएको बताउने गुरुङ बाहिर गरिने सबैजसो प्रोग्रामको एउटा हिस्सा च्यारिटी लाई छुट्टयाउने बताउछन ।
यसका अलावा नेपाल बाट कलाकारहरु ल्याएर बिभिन्न कल्चरल प्रोग्रामहरुको आयोजना समेत गुरुङले गर्दै आएका छन । च्यारिटेबल प्रोग्राम को लागी रेस्टुरेन्टमा पनि बिशेष छुटको व्यवस्था भएको बताउने गुरुङ बाहिर गरिने सबैजसो प्रोग्रामको एउटा हिस्सा च्यारिटी लाई छुट्टयाउने बताउछन ।
बेलायतमै बिरेन खडका,जीवन अधिकारीको समन्वयमा बिजिजे ग्रुप मार्फत नेपालमा भुकम्प आउनु पूर्व अन्जु पन्त लगायतका थुप्रै कलाकारहरु बोलाएर बेलायतका बिभिन्न शहरहरुमा कार्यक्रम हरु तय भई सकेका थिए ।
” कलाकारहरु आए पछी नेपालमा त्यस्तो विपद पर्यो, कार्यक्रम क्यान्सेल गर्नु भन्दा त्यसको आम्दानि भूकम्प पिडितलाई जाने गरी कार्यक्रम गरियो ” पछिल्लो अनुभव उनी सुनाउछन | यसबाटको करीव साढे चार लाख रुपैया भुकम्प पिडितलाई हस्तान्तरण भैसकेको छ ।
रेस्टुरेण्टमा मात्रै २७ जना नेपाली लाई रोजगारी दिएका गुरुङ सफलताको श्रेय भने परीवार र आफन्तलाई दिन्छन । एउटा साधारण परिवारको चार भाई मध्येको जेठो सन्तान को रुपमा जन्मिएका उनका धेरै स्ट्रगलका कथा पनि छन । सानोमै क्यान्सर पिडित बुवालाई गुमाएका गुरुङको थाप्लोमा जिम्मेवारीको बोझ कसरी बढ्यो निप्ट्याइयो भन्ने बताउदा भने उनी निकै भावुक देखिए ।
|दुर्गम गाउँका दुइ गाविस काटेर एकतर्फी दुई घण्टा हिडेर स्कुल पढेको कुरा उनको स्मरण बाट कहिल्लै नहराउने गरी गाञ्जिएको छ । स्कुलमा पटक पटक निधाउदा पनि सरहरूले यो टाढा बाट आउछ थाकेर हो भनेर सजाय नदिने गरेको प्रसंग रोचक रुपमा सुनाउछन उनी । पल्टनमा भर्ती हुन नसकेर पढाईमा फर्किएका उनलाई लाहुरे हुनुइको सट्टा पढाइ गर्न सक्नुमा भने गर्व नै लाग्छ । नेपालको सबै पढाई सकेर पनि लाहुरेको भन्दा थोरै तलव भन्ने गाउँले हरुको तत्कालिन वाक्यांश भने उनलाई अझै पनि बिझाइ नै रहन्छ ।
रेस्टुरेण्टमा कलाकार नहुदा ग्राहकको मनोरंजन को लागी आफै पनि गाउन बजाउन पछी नपर्ने गुरुङ बोलीचालीमा पनि उत्तिकै फरासिला छन । नेपालको गोर्खा थोप्राक घर हने गुरुङका आमा र भाईहरु नेपालमै छन भने बेलायतमा उनी एक छोरी र श्रीमती को साथमा बस्छन ।








