शिव भण्डारी लन्डन । मगर संघ यूकेको यही शनिबार हुने ओपन कन्सर्टका लागि नेपालका चर्चित गायक गायिकाहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आइपुगेका छन् । आज बिहीबार बिहान उनीहरु गेटवीक अवतरण गरेका हुन् ।
कलाकारहरुलाई मगर संघ यूके अध्यक्ष सीता पुन, ओपन कन्सर्टका प्रमुख संयोजक तथा मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष लाल बहादुर (लालु) पुन, महासचिव गुमानसिंह थापा, संयोजक होम रोका,, सांस्कृतिक सह सचिव रुक आले लगायतले विमानस्थलमा स्वागत गरे।
लन्डन नेपाल न्यूजसंग कुरा गर्दै कलाकारहरुले ओपन कन्सर्टमा बेलायतवासी नेपाली संगीतप्रेमी दर्शक श्रोताहरुलाई धित मरुन्जेल सांगीतिक प्रस्तुति दिने बताएका छन् । उनीहरुले कार्यक्रममा सहभागिताका लागि समेत अनुरोध गरे ।
१३ मे शनिवार फार्नबोरोस्थित फार्नबोरो फुटबल कलवमा कन्सर्ट हुनेछ । कार्यक्रममा खाना र अन्य व्यापारिक तथा च्यारिटीका स्टलहरु समेत राखिने आयोजकले जनाएका छन् ।
मगर संघ यूके अध्यक्ष सीता पुनले कन्सर्टको तयारी भइसकेको जनाउंदै सांगीतिक कार्यक्रमको भरपुर मनोरन्जन लिन सबैमा अपिल गरेकी छन्।
आयोजक मगर संघ यूकेले ३ सय भन्दा बढी अतिथि र ५ हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष राखेको छ । एड्भन्स टिकट दर: प्लाटिनम टिकट £१००, भिआइपी टिकट £५०, बयस्क टिकट £२५ र जेष्ठ नागरिक तथा १२ देखि १६ बर्ष सम्मका बालबालिकाका लागि £२० राखिएको आयोजकले जनाएका छन् । टिकट www.magaruk.org मा भिजिट गरेर पीडिएफ तथा QR Code लिन सकने ब्यबस्था गरिएको छ ।







