अस्ट्रेलिया नेपाल सिधा हवाई उडानका लागि नेपाल एयरलाइन्स सिफारिस

सिड्नी । अस्ट्रेलिया नेपाल सिधा हवाई उडानको प्रारम्भिक प्रक्रियागत काम अगाडी बढेको छ । हवाई उडानका लागि नेपाल सरकारले नेपाल एयरलाईन्स लाई सिफारिस गरेको छ ।

दुवै देशका कुनै पनि एयरलाईन्सले हवाई उडान गर्न सक्ने भएपनि नेपाल सरकारको तर्फबाट अस्ट्रेलिया स्थित नेपाली दुतावासले राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाईन्सलाई तोकेको हो ।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच विमान उडाउन पाउने एयर सर्भिस एग्रिमेन्ट भएको थियो । उक्त सम्झौता भएको चार वर्षपछि नेपाल सरकार पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत् नेपाल एयरलाइन्सलाई अस्ट्रेलिया उडानको लागि आधिकारिक वायुसेवा तोक्ने काम गरेको हो ।

अब यस निणर्यलाई अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियन सरकारको सम्बन्धित निकायलाई यसको पत्राचार गरिसकेपछि उडानको प्रारम्भिक ढोका खुल्ने छ अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि नेपाल एयरलाईन्सको नाम पठाएको भन्दै लामो समयपछि धेरैको माग पुरा हुने चरणमा रहेको बताए ।

यो निणर्यपछि अब नेपाल अस्ट्रेलिया बीचको सिधा उडानको ढोका खुलेको छ ।‘अन्य प्रक्रियाहरू अगाडि बढ्ने विश्वास हामीले लिएका छौं’, राजदूत पोखरेलले भने ।

नेपाल एयरलाइन्सले कोभिडको महामारीका बेला नेपालीको उद्धारका लागि काठमाडौं क्यानबेराको उडान भरेता पनि आधिकारिक रूपमा नेपाली वायुसेवाहरूले नियमित कुनै उडान गर्न सकेका छैनन् ।

कुनै पनि दुई राष्ट्रबीच हवाई सेवा प्रारम्भ गर्नुअघि आधिकारिक रूपमा सम्बन्धित मुलुकले विमान कम्पनीको नाम तोक्नु पर्दछ ।

यदि नेपाल एयरलाइन्सले साताको दुई दिनमात्र काठमाडौं-सिड्नी काठमाडौं उडान भर्न सकेमा त्यो अस्ट्रेलिया बस्ने नेपालीहरूको लागि गौरवको विषयसँंगै सहज यात्रा पनि सम्भव हुने विश्वास व्यक्त गरिएको छ ।