रवि लामिछानेको सांसद र मन्त्री पद खारेज :

काठमाडौँ ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने आदेश दिएको छ।

उनले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुन: लिने प्रक्रिया पुरा नगरेको भन्दै संवैधानिक इजलासले यस्तो आदेश सुनाएको हो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहा रहेको संवैधानिक इजलासले उक्त निर्णय गरेको हो।

बुधवार यो मुद्दामा दुवै पक्षका वकिलहरूले बहस गरेका थिए। सरकारी पक्षको बहस जारि रहेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

यसअघि गत पुस २२ गते सर्वोच्चले माघ ११ गते पूर्ण सुनवाइका लागि पेस गर्ने गरी विभिन्न कागजपत्र झिकाउन आदेश दिएको थियो।

अघिल्लो महिना नयाँ सरकार गठन भएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए। योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।