बेलायतमा ‘गोर्खा कप’ हेर्न हजारौं नेपाली मैदानमा उतार्न तमुधिं यूकेले गर्र्यो पत्रकार सम्मेलन

लन्डन । बेलायतमा तमुधिं यूकेको आयोजनामा हुने वर्षकै ठूलो खेल इभेन्ट गोर्खा कपको २० औं संस्करण आगामी ४ जुन शनिबार अल्डरसटको क्वीन्स् एभिन्यू मैदानमा हुने भएको छ । २० औै संस्करण गोर्खा कपको सम्पूर्ण तयारी बारे २९ मे आइतबार पत्रकार सम्मेलन गरि कार्यक्रमहरु सार्बजनिक गरिएको हो ।कार्यक्रम संयोजक एवं तमुधिं यूके खेलकुद सचिव क्याप्टेन देव घलेले यसपटक १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा हुने जानकारी दिए। महिलाहरुबीच पहिलोपटक प्रतिस्पर्धा गराइन लागेको हो ।प्रतियोगितामा लन्डन आसपासबाहेक वेल्स, कोलचेष्टर, अक्सफोर्ड, योर्क, क्याटरिकसहित बेलायतका विभिन्न शहर र नेदरल्याण्डबाट समेत टिम सहभागी हुने जनाइएको छ ।प्रतियोगितामा मेनतर्फ पहिलो हुने टिमलाई २५ सय पाउण्ड नगद, १५ खेलाडीलाई ट्रफी र प्रमाणपत्र दिइनेछ भने दोश्रो हुने टिमले १५ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्।त्यसैगरि, भेटानतर्फ पहिलो हुने टिमले १५ सय पाउण्ड, दोश्रोले ८ सय पाउण्ड, ट्रफी एवम् प्रमाणपत्र तथा महिला टिमतर्फ पहिलो हुनेले ५०० सय पाउण्ड, ट्रफी र प्रमाणपत्र एवम् दोश्रो हुनेले ३ सय पाउण्ड, ट्रफी र प्रमाणपत्र पाउने तमुधिं यूकेले जनाएको छ । त्यसबाहेक वेष्ट प्लेयर, हाइ स्कोरर र वेष्ट म्यानेजरलाई पनि ट्रफी दिइनेछ। प्रतियोगिताका दिन बिहान ९ बजेदेखि खेलहरु शुरु हुनेछन्।

बेलायती समुदायमा नेपाली युवामाझ फुटबलको स्तर वृद्धि, सुरक्षित वातावरणमा रमाइलो माहोल सृजना, सुःख दुःख आदानप्रदान, लागू औषध, मदिरा र क्यान्सरबारे जनचेतना, च्यारिटीका लागि कोष संकलन, नेपालमा आपतकालिन अवस्थामा सहयोग गर्न राहत संकलन लगायत मुख्य उद्देश्य रहेको संयोजक घलेले जनाए।

प्यारासुट डिस्प्ले, ठेलो पतियोगिता, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल आदि गरी ५२ स्टल, सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि गोर्खा कपका मुख्य आकर्षण रहने आयोजकले बताएका छन् ।

गोर्खा कपमा इंग्ल्याण्डकै क्लबमा आबद्ध युथ फुटबलर सुश्री अस्मिता आले पनि सहभागी हुनेछिन्। गोर्खा कप हेर्न बेलायतभरबाट करिब १० देखि १२ हजार दर्शक सहभागिताको अपेक्षा छ ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भइ मनोरञ्जन लिन आग्रह गरेका छन्। अध्यक्ष गुरुङले मिडियाकर्मीलाई आफनो तर्फबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गरे। खेलबाट नाफा कहिल्यै नहुने उल्लेख गर्दै उनले संस्थाको मुल उद्देश्य नेपाली युवालाई कुलततिर लाग्नबाट जोगाउने, समुदायमा अन्तरघुलन र नेपाली ब्यवसाय एवं कला संस्कृति संरछण रहेको बताए ।अध्यक्षले तमुधिं यूकेले गरेका च्यारिटीबारे पनि अवगत गराए । करिब ४० हजार पाउण्ड खर्च लाग्ने बताइएको उक्त इभेन्ट सुरक्षाका लागि पुलिस फोर्ससहित ६० जना सेक्यूरिटी गार्ड मैदानमा तैनाथ हुनेछन्। कार्यक्रमस्थल अल्कोहल बिक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइने छ।

पत्रकार सम्मेलनको लाइभ रिपोर्ट : ( भिडियो हेर्नुस् )