काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित : को हुन् बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् । बालेन भारी मतान्तरले विजयी भएका हुन् । उनी ६१,७६७​ मत मतसहित काठमाडौंको मेयरमा निर्वाचित भए ।

त्यस्तै, सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३८,३४१​ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहे । उनले ३८,११७​ मत प्राप्त गरे ।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। त्यस्तै, काठमाडौंको उपमेयरमा सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै उपमेयरमा निर्वाचित भएकी हुन् ।

सुनिताले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।

को हुन् बालेन

३१ वर्षीय साह पेशाले इन्जिनियर हुन् । त्यस्तै, उनी नयाँ पुस्ता माझ र्यापरका रूपमा पनि परिचित छन् । उनी काठमाडौंको गौरीगाउँमा जन्मिएका हुन् । साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी छोरा हुन् ।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी २०७२ सालको महाभूकम्पपछि उद्धार र राहतको काममा सक्रिय थिए ।

गठबन्धन र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै उनी नेपालकै सबैभन्दा ठूलो महानगरको शक्तिशाली मेयर बनेका छन् । स्थानीय तहको सेवालाई अनलाइन प्रणालीमा जोड दिने योजना बनाएका छन् । काठमाडौंको फोहोर अस्तव्यस्त सडक व्यवस्थापन प्रमुख मुद्दाका रूपमा अघि सारेका छन् ।