गुल्मी जिल्ला समाज यूकेको नेतृत्वमा तिन जनाको भीडन्त हुँदै

लन्डन । गुल्मी जिल्ला समाज यूकेको नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरु चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।

आगामी मे १ तारिख हुने अधिवेशनले निर्वाचित गर्ने नयाँ कार्यसमितिको अध्यक्ष पदमा संस्थालाई हाँक्न तीन जना बीरबहादुर बलाल, मतिप्रसाद पुन र तारानाथ भण्डारीले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेद्वारी दिनेमध्ये बलाल वर्तमान कार्यसमितिका महासचिव हुन् भने पुन र भण्डारी दुवै उपाध्यक्ष छन् ।

त्यस्तै, नयाँ कार्यसमितिको ३ उपाध्यक्षमा वर्तमान कार्यसमितिकी सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराईले उम्मेद्वारी दिएका हुन् ।

अध्यक्ष र उपाध्यक्षबाहेक कार्यसमितिका अन्य सबै पद भने निर्विरोध भएका छन् । जसअनुसार महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध भएका छन् ।

निर्वाचन समितिका प्रमुख संयोजक मीन दर्लामीका अनुसार प्रकाशित उम्मेद्वारहरुको नामावलीमाथि दाबीविरोधका लागि २० अप्रिल बेलुका ९ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको पहिलो नामावली अप्रिल २४ बेलुका ९ बजे प्रकाशन गरिनेछ ।

त्यस्तै, उम्मेद्वारी फिर्ताका लागि अप्रिल २५ तारिख साँझ ५ बजेसम्म समय छ भने सोही दिन बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

नयाँ कार्यसमिति निर्वाचनका लागि मीन दर्लामीको प्रमुख संयोजकत्वमा गठित निर्वाचन समितिमा रण केसी सदस्यसचिव तथा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य छन् ।

संस्थालाई यसअघि संस्थापक अध्यक्ष ओमप्रसाद थापा, अर्जुन गौतम, राम गलामीले नेतृत्व गरिसकेका छन् भने वर्तमान कार्यसमिति अध्यक्ष टोप पल्ली हुन् ।

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाज यूकेले हालसम्म थुप्रै परोपकारी कार्य गरेको छ। समाजले गृह जिल्लामा एम्बुलेन्स वितरण, तम्घासको आशा अपांग केन्द्रलाई वर्षेनी आर्थिक सहयोगदेखि देशका विभिन्न क्षेत्रमा पनि भूकम्प, बाढिपहिरो, आगलागी जस्ता विपतका बेला सहायता पठाउँदै आएको छ ।