लण्डन । एनआरएन युकेका उपाध्यक्ष तथा समाजसेवी मोहन कार्कीले आफ्नो ४ वर्षको छोरी राजभिका कार्कीको नाममा स्थापना गर्नु भएको राजभिका फाउण्डेसनबाट राष्ट्रिय आविस्कार केन्द्र नेपाल लाई रु एक लाख सहयोग गर्नु भएको छ।
नयाँ वर्ष २०७९को पहिलो दिनमा नै फाउण्डेसन स्थापना गरिएको र स्थापनाको पहिलो दिनमै राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको कार्कीले बताउनु भयो। स्कटल्याण्डको फलक्रिकमा फोर्थ भ्याली नेप्लिज एशोसिएसन द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्कीले आविस्कार केन्द्रका स्थापनाकर्ता महाविर पुनलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो।
सो अवसरमा कार्कीले राजभिका फाउण्डेसनले नेपालमा बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले गठन भएको र आविस्कार केन्द्रको शैक्षिक कार्यक्रम मार्फत सहयोग कार्यको शुरुवात गरिएको बताउनु भयो। चाडैनै च्यारिटीमा दर्ता गरेर विधिपूर्वक सहयोगहरु गर्ने समाजसेवी कार्कीले बताउनु भयो।
फोर्थ भ्याली नेप्लिज एशोसिएसनको अध्यक्ष समेत रहनु भएका कार्कीले सोही अवसरमा फोर्थ भ्याली नेप्लिज एशोसिएसनको तर्फबाट राष्ट्रिय आविस्कार केन्द्रलाई थप एक लाख सहयोग गर्नु भएको थियो।
उक्त कार्यको लागि सचिव चन्द्र काश्यप, सदस्यहरु नारायण ढुंगाना , नन्दु चापागाईं, विशाल खरेल, हेम श्रेष्ठ, दिपु श्री, सल्लाहकारहरु प्रकाश कार्की, ज्ञान गुरुङ, काशी भण्डारी ,शर्मिला कार्की , मदन श्रेष्ठ, सौगात मानन्धर, सागर केशी, बिपिन पौडेल, कमल सापकोटा, लक्ष्मन चापागाईले सहयोग प्रदान गर्नु भएको थियो।
फोर्थ भ्याली नेप्लिज एशोसिएसनले कोभिडको महामारीमा गत बर्षनै सहयोग गर्ने निर्णय गरेता पनि अनुकुल नमिलेको कारण पहिले हस्तान्तरण गर्न नसकिएको र महाविर पुनको बेलायत यात्राको कार्यक्रममा हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले लन्डन नेपाल न्युज लाई बताउनु भयो।
फोर्थ भ्याली नेप्लिज एसोशिसनले अब नेपालमा गरिने सम्पूर्ण सहयोगहरु अब राष्ट्रिय अविष्कार केन्द्र मार्फत नै गर्ने र आउने दिनहरुमा सहयोगको क्रम निरन्तरता रहने उहाँले जानकारी गराउनु भयो।






