काँग्रेसले चुनावी घोषणापत्र वैशाख ११ गते सार्वजनिक गर्ने

काठमाण्डौ । नेपाली काँग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको बिहिवार पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निणर्य गरेको हो ।

जनता र पार्टीका नेता/कार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने काँग्रेसको तयारी रहेको छ । समितिका सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र दिवसका दिन घोषणा पत्र सार्वजनिक गरिने बताए । घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने पनि उनले बताए ।

त्यसका लागि टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था गर्न लागिएको उनको भनाई छ । २०७४ सालमा काँग्रेसले जितेका स्थानीय तहका प्रतिनिधिका सुझाव पनि काँग्रेसले लिने भएको छ ।

साथै पार्टीको पालिकास्तर कार्यसमितिबाट पनि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव लिइने शिवाकोटीले जानकारी दिए । कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विषय विज्ञसँग पनि छलफल गरेर घोषणापत्रमा समावेश गर्ने एजेन्डा तय गरिने काँग्रेसको तयारी छ ।