काठमाण्डौ । बितेका वर्षहरूको तुलनामा यो वर्ष गर्मी बढेसँगै स्वास्थ्य समस्या भएर अस्पताल जानेहरू पनि बढ्न थालेका छन् । गर्मी सुरु हुनासाथ मानिसहरूमा झाडापखाला, ज्वरो, रुघाखोकी, खाना अपच हुने, किटजन्य रोग लाग्ने जोखिम धेरै हुन्छ ।
गर्मीमा देखिने यी स्वास्थ्य समस्याका कारण बर्सेनि कति मानिस प्रभावित हुन्छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग नभएपनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्षको गर्मी सुरु भएको एक सातामै कालाजारका ८, डेङ्गीका २, झाडापखाला र वान्ताको समस्या देखिएका बिरामीको सङ्ख्या देशभरमा गरी ५० को हाराहारीमा छ ।
धेरै गर्मी हुने भू-भागका नागरिकमा स्वास्थ्य समस्या पनि धेरै देखिने सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । गर्मीमा देखिने रोग र बच्ने उपायकाबारेमा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले खानपान सहित सरसफाईमा ध्यान दिनुपर्ने बताए ।
गर्मी मौसममा देखिने सङ्क्रामक र सरुवा रोगका कारण वर्षेनि कतिको मृत्यु हुन्छ, तथ्याङ्क सरकारसँग नभएपनि जोगिनका लागि सरकारले मातहतका निकायसँग समन्वय गरिरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए ।
अस्पताल आउने बिरामीको सङ्ख्या तीव्र गतिमा नदेखिए पनि अहिलेदेखि नै सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । रोग लाग्नै नदिनका लागि आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।






