पल शाह प्रकरण : के के हुँदैछ अनुसन्धानमा ?

काठमाण्डौ । अभिनेता पल शाह एक गायिका विरुद्ध जवरजस्तीकरणीको आरोपमा यतिबेला तनहुँ प्रहरीको हिरासतमा छन् । उनी विरुद्ध एक गायिकाले करणी गरेको भन्दै जाहेरी दिएकी थिईन् । हिरासतमा गएको झण्डै साता हुन लागिसक्दा उनी विरुद्ध कानुनी प्रक्रियाका लागि अनुसन्धान जारी रहेको छ ।

आफूमाथि जाहेरी दर्ता भएसँगै पलले सामाजिक सञ्जालमा केही अडिओहरू सार्वजनिक गरेका थिए । पीडितलाई केही व्यक्तिहरूले प्रयोग गरेको ती अडिओबाट पुष्टि हुने उनको दाबी छ । पलका समर्थकहरुले आफ्नै साथीले पललाई पिठ्यूँबाट छुरा घोपेको अर्थमा व्याख्या गरिरहेका छन् ।

जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूणर्विक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया शुरु हुनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रियाहरू खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनअघि नै शाहविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । अब भने प्रहरीले प्रमाण संकलनको प्रक्रिया शुरु गर्छ ।

आरोपित पल शाह र उनका समर्थकले पीडित किशोरीको सहमतिमा उनीहरूसँगै बस्ने गरेको भनी दाबी गरेका छन् । तर, मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मञ्जुरी लिएरसमेत करणी गर्न नपाइने उल्लेख छ ।

प्रहरीले शुरुमा पीडित किशोरी र उनका संरक्षक(बाबु) को बयान लिन्छ । फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृत समक्ष गर्ने भनाइलाई महत्वपूणर् प्रमाण मानिन्छ । त्यसपछि पीडितका संरक्षकसँग प्रहरीले सोध्छ । प्रमाणका लागि पीडित किशोरीले स्वास्थ्य परीक्षणसमेत गरिसकेकी छन् ।

त्यसपछि प्रहरीले अभिनेता पल शाहको बयान लिन्छ । बयानका क्रममा शाहले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन् । उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउनेछन् । प्रहरीले अनुसन्धानका क्रममा घटना देख्ने वा त्यससँग सरोकार राख्ने मानिसहरूसँग समेत बुझ्न र बयान लिन सक्नेछ ।

सम्बन्धित पक्षको बयान सकिएपछि अनुसन्धान शुरू हुन्छ । अनुसन्धान टुंगिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ ।

पीडितका बाबुले जाहेरी दिएको अनि पीडित किशोरीले नै आफूमाथि बलात्कार भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब-करिब निश्चितजस्तै छ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ । बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ ।

अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतयाः ३ वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रूपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।