कमल थापाले गरे राप्रपा छोडेको घोषणा

काठमाण्डौ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेको घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले अत्यन्त भारी मन तथा पीडाबोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निणर्य लिएको बताए । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निणर्य लिन बाध्य भएको हुँ ।’ उनले बताए

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निणर्य लिएका हुन् ।

उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए ।

निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई जिताउने काम मात्रै गरेको नभइ धेरै प्रश्नहरु पनि जन्मिएको उनले बताउँदै आएका छन् ।