काठमाण्डौ । गाउँघरमा महिलाहरुलाई आर्थिक उपार्जनसगं जोड्ने उद्धेश्यले खोलिएका लघुवित्तका कारण कतिपयको विल्लीबाँठ नै हुने गरेको छ । यी संस्थाले समुदायमा गर्ने लगानी अनुत्पादक क्षेत्रमा प्रयोग हुँदा ऋण लिएर भाग्ने क्रम पनि बढेको छ ।
गुल्मीमा दर्जन भन्दा बढी लघुवित्तिय संस्था छन् । यस्ता संस्थाको नियमन गर्ने निकाय नहुनु र विश्वासको भरमा सामुहिक जमानीमा दिईने ऋण लिएर जिल्लाका ६५ जना महिलाले गाउँ छाडेका छन् । करिब डेढ करोड रकम लिएर उनीहरु भागेका हुन् ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका स्थित गौडाकोटमा रहेको ग्लोवल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका हुन् । उनीहरुबाट झण्डै एक करोड ऋण असुली गर्न बाँकी रहेको शाखा प्रमुख रामहरी पौड्यालले बताए । ऋण तिर्न नसकी सम्पर्कविहीन रहेका ६५ जनामध्ये ४० देखि ५० जना तम्घासका हुन् ।
गुल्मीदरबार गाउँपालिका-४, बिरबास, जिमी गाउँकी निता राना (नाम परिवर्तन)का पति वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । रेश्मीले अन्य विभिन्न वित्तीय संस्थाबाट पनि ऋण लिएकी छन् । उक्त ठाउँमा रहेका सहकारीहरुबाट उनले झण्डै ७ लाख रुपैयाँ ऋण लिएर भागेकी छिन् ।
उनले गौडाकोटको ग्लोवल आइएमई लघुवित्तबाट १ लाख ७० हजार, सोही स्थानमा रहेको सुर्योदय लघुवित्तबाट १ लाख ७५ हजार, सोही स्थानकै उन्नति लघुवित्तबाट १ लाख ३० हजार, बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्य सहकारी संस्थाबाट ८० हजार, सोही बजारको नेपाल एग्रो लघुवित्तबाट १ लाख ५० हजार, बलेटक्सारकै जनसेवी लघुवित्त, भेडुवाको आरम्भ लघुवित्त र तम्घासको जनउत्थान लघुवित्तबाट समेत सोही हाराहारीमा ऋण लिएकी छन् ।
उन्नति लघुवित्त वित्तीय संस्था गौडाकोट शाखा प्रमुख सिर्जना वञ्जाडेले कतिपय महिलाले लघुवित्तबाट ऋण लिएर उत्पादनमुलक काममा लगाएकाले यस्तो अवस्था आएको बताईन् । कतिले भने राम्रै काम पनि गरिरहेको उनको भनाई छ ।
आफ्नो संस्थाबाट ऋण लिएका केही ऋणी फरार रहेको उनले पनि स्वीकार गरिन् । एकाध बाहेक अधिकांश लघुवित्तले अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । अरु थुप्रै लघुवित्तबाट ऋण लिएको थाहा पाउँदा पाउँदै पनि कतिपयले मनपरी ऋण लगानी गरेका छन् । ग्लोबल आइएमई लघुवित्तका गौडाकोट शाखा प्रमुख रामहरि पौड्याल पनि लघुवित्तको अस्वस्थ्य प्रतिस्पर्धाले विकराल स्थिति आउन थालेको स्वीकार गर्छन् । जुन प्रयोजनका लागि ऋण लिएको हो त्यही प्रयोजनका लागि खर्च नगर्दा समस्या सिर्जना भएको उनको बुझाई छ ।
यता गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँगाउँमा लघुवित्तहरुको विगविगी रहेको स्विकार गरे । संस्थाहरुले गाउँमा छिरेर महिलाहरुलाई संगठित गरी कर्जा प्रबाह गरेको र गाउँपालिकालाई कुनै जानकारी समेत नदिएको उनको भनाई छ । लघुवित्तीय संस्थाहरुलाई बोलाएर छलफल गर्ने र समस्याको समाधान गर्ने गरी आफूहरु लागेको उनको भनाई छ ।
केही दिन पहिले जिल्ला प्रशासन कार्यालय गुल्मीको एक छलफलमा पनि गाउँमा लघुवित्तीय संस्थाहरुको विगविगी रहेको स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेका थिए । उनीहरुले लघुबित्तीय संस्थाहरुलाई नियमन गर्न नसकेमा झन ठूलो समस्या आउने बताएका थिए । गाउँमा हुने पारिवारिक कलह, बेमेल जस्ता घटनाहरु यस्तै कारणले निम्तने गरेको उनीहरुको गुनासो थियो ।






