धनुषामा लुटेराले प्रहरीलाई लुटे,असई पोखरेल गम्वीर घाइते

धनुषा। धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समूहले प्रहरीमाथि आक्रमण गरेको छ । बटेश्वर–४ मा मंगलबार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् । लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असईको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनको टाउकोमा १२ वटा टाँका लागेको रजौरेले बताए ।

ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका–७ का अमित पासवानलाई लुटपाट गरेका थिए । सो घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो ।

लुटपाट गर्नेहरुलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । उनले घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारीसमेत दिए । पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रवि दास छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।