आज माघे संक्रान्ति स्नान, दान, एवं खानपिन र रमाइलो गरेर धुमधामका साथ मनाइँदै

लन्डन । आज देश तथा बिदेशमा माघे संक्रान्ति पर्व हर्षोउल्लासका साथ मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।

आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ ।

यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ ।आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित  पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी पर्व मनाउन सबैमा आह्वान पनि गरेका छन।