लण्डन । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन व्यापक रुपमा फैलिदैं गएसँगै संयुक्त अधिराज्यका तीन राष्ट्रहरुमा नयाँ नियमहरु जारी गरिएको छ ।
सरकारले स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा संक्रमणको विस्तार रोक्न नयाँ नियम जारी गरेको हो ।
जस अनुसार यी राष्ट्रहरुमा आतिथ्यता क्षेत्र, लिजर इन्डष्ट्रीहरुमा कडाई गरिएको छ भने सार्वजनिक दूरी कायम गर्न भनिएको छ त्यस्तै मानिसहरुको जमघटमा पनि नियन्त्रण गरिने भएको छ ।
यी देशहरुमा सामाजिक दूरी पालना गर्न भनिएको छ । त्यस्तै पब, रेष्टुरेन्ट र लिजर भेन्युहरुमा भिडभाड गर्न बन्देज लगाइएको छ ।
बक्सिङ्ग डे देखि स्कटल्याण्डमा इन्डोर गतिविधिहरुमा १०० मानिसहरु मात्रै उभिन र २ सय जना मानिसहरु बस्न पाउनेछन् । आउटडोरमा भने ५ सय मानिसहरु जम्मा हुन पाउनेछन् ।
त्यस्तै २७ डिसेम्बरबाट पव, रेष्टुरेन्ट, थियटर, सिनेमा, जिममा एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।
त्यस्तै वेल्समा आइतवार पव, सिनेमा, रेष्ुटरेन्टहरुमा ६ जना भन्दा बढी भेट हुन पाउने छैनन् । आउटडोर गतिविधिहरुमा ५० जना सहभागि हुन पाउनेछन् । इन्डोरमा ३० जना जम्मा हुन पाउनेछन् । कार्यालय र सार्वजनिक ठाँउहरुमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ ।
नाइटक्लबहरु बन्द हुनेछन् । त्यस्तै नर्दन आयरल्याण्डमा नाइटक्लब बन्द हुनेछन् भने इन्डोरका कार्यक्रम पनि रोक लगाइनेछ ।
२७ डिसेम्बरबाट पव, रेष्टुरेन्ट, क्याफेहरुले टेबल सर्भिस मात्र दिन पाउनेछन् । विभिन्न घरहरुबाट आउने ६ जनालाई मात्रै सँगै बस्न अनुमति दिइने छ ।
तर प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा भने कुनै प्रतिबन्धहरुको घोषणा गरेका छैनन् । उनले आवश्यक परेको अवस्थामा प्रतिबन्धहरु लगाइने बताएका छन् ।
बेलायतमा शुक्रवार मात्रै १ लाख २२ हजार बढी कोभिड विरामी भेटिएका थिए । क्रिसमस र बक्सिङ डे मा भने संक्रमणको अवस्था जानकारी गराइएको छैन ।
हालसम्म यी तीन राष्ट्रहरुमा प्रत्येक ३५ जना मानिसमध्ये एक जनालाई कोभिड संक्रमण देखिएको पाइएको थियो ।
बेलायत सरकारले नागरिकहरुलाई योग्यता पुगेको अवस्थामा कोभिडको बुस्टर डोज भ्याक्सिन चलाउने प्रेरित गरिरहेको छ । बुष्टर डोज नै कोभिडविरुद्ध लड्ने अचुक उपाय रहेको भन्दै सरकारले यसप्रकारको आग्रह गरेको हो ।






