लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष तथा ‘नेपाली नागरिकता निरन्तरता विभाग’का संयोजक मोहन कार्कीले नेपालका कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरेका छन् ।
भेटको क्रममा उनले एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा संशोधन गर्न तथा नेपाललाई युकेको ‘रेड लिस्ट’ बाट हटाउन पहल गर्न आग्रह गरेको लण्डन नेपाल न्यूजलाई बताए ।
सिंहदरबारस्थित मन्त्री कार्कीको कार्यकक्षमै भेटघाट गरी उनले यी दुई विषयलाई चाँडै समाधान गरिदिन आग्रह गरेका हुन् ।
भेटको क्रममा मन्त्री कार्कीले संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरु संशोधन गर्दै सक्दो चांडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष कार्कीले बताए ।
यस्तै कार्कीले यिनै विषयमा ध्यानाकर्षण गर्न गृहमन्त्री बालकृष्ण खांणसँग पनि समय मागेका छन् । आफ्नी आमाको १३ औं दिने काजकिरीया सम्पन्न गरी उनी एनआरएन नेपालीहरुको तथा कोभिडको कारण रेडलिस्टमा नेपाल पर्दा भएको समस्या सुल्झाउनको निम्ती पहल गर्न अघि सरेका हुन् ।
बेलायतले नेपाललाई रातो जोनमा राखेसँगै नेपाल र नेपालीहरुलाई धेरै घाटा भएको भन्दै रेड लिस्टबाट हटाउनको निम्ती पहल गरेको र सरकारबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।






