लन्डन ।नेपालको निजामती सेवामा अढाई दशक लामो सेवा गरेका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आयरल्याण्ड र माल्टाका लागि राजदूतमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो ।
राजदूत रेग्मीले गत मार्च १ तारिखबाट बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यभार सम्हालेका थिए । नेपाल सरकारको मुख्य सचिवबाट राजीनामा गरेपछि रेग्मीलाई बेलायतको राजदूतमा सिफारिश गरिएको थियो ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।






