लन्डन । गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा गर्न सघाउने उद्देश्यले युकेमा एक मंच गठन गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत आयोजित समारोहमा बेलायतस्थित समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा गरिएको हो । उक्त मंचले प्रदेशमा खेलकुदको विकासमा सघाउने छ । अध्यक्ष गुरुङ पूर्व राष्ट्रिय खेलाडी तथा तमुधिं यूकेका संस्थापक पनि हुन्। मन्चमा विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले विदेशमा जन्मिएका नयाँ पुस्तालाई मातृभूमितर्फ आकर्षित गर्न एनआरएनएले नेपालको खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशले खेलकुदको विकासमा उदाहरण प्रस्तुत गर्ने आशा पनि व्यक्त गरे।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानले जिम्मेवारी बढाएको भन्दै खेलकुद क्षेत्रको विकासमा लागि रहन आफुलाई अरु बढी हौसला मिलेको जनाए । उनले पहाडी भेगमा खेलिने मौलिक छेलो र तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भइसकेको पनि जानकारी दिए । गण्डकी प्रदेशको खेल विकासमा गैरआवासीय नेपाली संघबाट धेरै अपेक्षा राखेको बताउंदै उनले आफू सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा रहेको बताए। शुभकामना मन्तव्य एनआरएनए आइसीसी महासचिव डा. हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा, अन्तरराष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी, सहारा यूके संस्थापक नवीन गुरुङ, पूर्व प्रधानाध्यापकद्वय एकेन्द्र गुरुङ र महेश गुरुङ तथा तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिए।
पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले गण्डकी प्रदेशका सदस्यसचिव गुरुङको प्रोफाइल र पृष्ठभूमि समेटेर प्रस्तुति दिएकी थिइन् । कार्यक्रमको अध्यक्षता मीनप्रसाद तमुले गरेका थिए ।






