केपी ओली वैशाखपछि पत्तासाफ हुन्छन्: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने बताएका छन् ।

‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन् त्यसपछि पत्तासाप, आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ?’ उनले प्रश्न गरे ।उनले ओलीले घोषणा गरेको चुनाव पनि नहुने भन्दै भ्रममा नपर्न आग्रह गरे ।

अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य दलहरुलाई आग्रह गरे ।
अध्यक्ष दाहालले साढे दुई बर्ष अघि आफुले पार्टी एकताको प्रस्ताव गर्दा आजको दिन आउला भनेर कल्पना नगरेको बताए ।

काठमाडौँको भृकुटीमण्डपमा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, “ओली सच्चिएको भन्ने सोँचेको थिएँ तर हालसम्म बुझ्न सकिएको रैनछ, अहिलेसम्म संविधानमाथि यति ठूलो निर्मम प्रहार कसैले गरेको थिएन, हामीले बनाएकै प्रधानमन्त्रीबाट यस्तो हुन्छ भन्ने सपनामा पनि सोचेका पनि थिएनौँ ।”

अध्यक्ष प्रचण्डले यो आन्दोलन संविधान र लोकतन्त्र माथि भएको क्रुर प्रहार विरुद्धको लडाई भएको भन्दै ७० बर्षसम्म विभिन्न लडाई लडेर बनाएको विश्वकै लोकतान्त्रिक संविधानको संरक्षण गर्न भनेर नेकपाले दिएको भरोसा ओलीले तोडेको बताए ।

“म यही कार्यक्रमबाट हाम्रो पार्टीले बनाएको प्रधानमन्त्रीबाट संविधान माथि अपमान भयो भनेर बोल्दै गर्दा क्षमा याचना गर्न चाहान्छु, मैले नै हो वामगठबन्धन र एकताको प्रस्ताव लिएर केपी ओलीकोमा गएको,” उनले भने, “तर ओली बयलगाढामै हुनुहने रहेछ, मलाई थाहा थियो, उहाँ संघीयता विरोधी हो, धर्मनिरपेक्षता विरोधी हो भन्ने पनि थाहा थियो तर उहाँको सिद्धान्त बयलगाढाको सिद्धान्त रहेछ माक्सवाद र लेनिनवादको होइन ।”

ओलीको मनले संघीय लोकतान्त्रिक गणतन्त्र नमानेको कुरा पहिल्यै थाहा भएको भन्दै उनले भने, “ओली बयलगाढामै हुनुहुने रहेछ, उहाँ हिजो कै गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, लोकतन्त्रण विरोधी प्रतिगमनवादी नै हुनुहुने रहेछ ।”

उनले ओली विचारमा पनि स्खलित भइसकेको भन्दै ओलीले भन्ने गरेको लोकतन्त्र अत्यन्तै निरकुंश तानाशाह तानाशाह भएको र यसले देशलाई भडखारोमा हाल्ने कुरा प्रमाणित भएको बताए ।

संसद् भंग नभएको भन्दै उनले भने, “भंग भएको ओली सरकार हो, संसद होइन, हामी ज्यूदै छौँ, ओलीले इतिहासमा कलंकको टिका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन, ओलीले आफैले बनाएको संविधान बलात्कार गरे, मैले गल्ती गरे भनेर नभनेसम्म जनताले माफी दिनेछैनन् ।”