काठमाडौँ । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।
सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।
कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो ।
सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाइसकेको छ । यसबीचमा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो । चौतर्फी दबाब परेपछि सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो । ‘यससम्बन्धी केही मापदण्ड स्वास्थ्य मन्त्रालयले पक्कै बनाउनेछ,’ एक मन्त्रीले भने । कोरोना परीक्षण र उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ ।






