राजदूत डा. सुवेदी कफी समितिको उपाध्यक्षमा निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समितिको उपाध्यक्षमा निर्वाचित भएका छन्।
यस अघि विभिन्न समितिमा रहेर नेतृत्व प्रदान गरिसकेका राजदूत डा. सुवेदीले प्रोजेक्ट समितिको जिम्मेवारी पाएका हुन् । राजदूत डा। सुवेदी सन्‌ २०१७-१८ मा सोही संगठनको बजार प्रवर्द्धन समितिको उपाध्यक्ष बनेर काम गरेका थिए । त्यस्तै सन्‌ २०१८-२०१९ मा समितिको अध्यक्ष र सन्‌ २०१९-२०२० मा तथ्याङ्क समितिको अध्यक्षका रूपमा विगत चार वर्षदेखि कार्यकारी नेतृत्वमा रहेका थिए ।
गत सेप्टेम्बरमा सम्पन्न १२७ औं अन्तर्राष्ट्रिय कफी परिषद्को बैठकले अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. सुवेदीलाई संगठनको प्रोजेक्ट समिति उपाध्यक्षमा निर्वाचित गरेको हो ।
सोही बैठकले राजदूत डा. सुवेदीलाई संगठनको अन्तर्राष्ट्रिय परामर्श समितिको उपाध्यक्षमा पनि निर्वाचित गरेको छ ।
नेपालले सन्‌ २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता हासिल गरेको हो।