(एजेन्सी) फोटोग्राफी कत्तिको लागि शोख हुन्छ त कत्तिको लागि पेशा । कहिलेकाँही फोटोग्राफरको अव्यक्त भावना र कलाको उत्कृष्ट पारख अनि चाहना यति उत्कर्षमा पुग्छ कि कहिले मृत्युको मुखसम्म पनि धकेल्छ । यस्तै भयो पाकिस्तानी फोटोग्राफर अतीफ सईदलाई ।

सन् २०१२ मा लाहोरको सफारी पार्कको यात्रा तय गर्दा सईदलाई शायदै लागेको थियो होला कि सोही यात्रामा उनले जीवनको सबैभन्दा उत्कृष्ट दृष्य आफ्नो क्यामेरामा कैद गर्न पाउनेछन् जसको मूल्य शायद उनको जीवन पनि हुन सक्थ्यो । हो, त्यतिबेला उमेरको लगभग चौथो दशकमा पाइला टेक्दै गरेका स्वतन्त्र फोटोग्राफर सइदले १० मिटरको दुरीमा रहेको एक भोको सिंहको तस्बीर क्यामेरामा कैद गरे, जसले संसारभरका मानिसको ध्यानआकर्षण ग¥यो र सनसनी मच्चायो ।
एक भोको सिंहको तस्बीर लिने यात्रा र त्यससंग जोेडिएको प्रसंग पनि कम रोचक छैन । जंगलको बीचमा गाडीमा यात्रा गर्दै गर्दा सईदले कसरी सिंहलाई देखे र उक्त दृष्यलाई नजिकबाट नियाल्ने र एक झलक क्यामेरामा समेट्ने उत्कट इच्छालाई उनी यसरी व्यक्त गर्छन् । “त्यो एक वयस्क सिंह थियो र मलाई उसको सबैभन्दा मन परेको पक्ष भनेको उसको घाँटीमा झुप्प परेको सुन्दर रौंका गुच्छा नै थिए । ” त्यसपछि उनी आफ्नो मन थाम्न सकेनन्, कारको बाँया ढोका खोलेर घाँसमा घस्रिदैं उनी आफ्नो ५ सय एमएमको लेन्सबाट तस्बीर खिच्न तल्लीन भए । त्यो समयमा उनलाई यो एक मुर्ख कदम पनि हुनसक्ने भान नभएको होइन तर उनले आफैंलाई थुम्थुमाए, यो नै प्राकृतिक तस्बीरका लागि एकमात्र विकल्प हो ।

सईदले केही क्षणमा नै तस्वीर लिने अवसर त पाए तर क्यामेराको शटर ध्वनीले शायद सिंहलाई रिस उठायो र ऊ आफ्नो ध्यान र स्वतन्त्रता भंग गर्नेमाथि आक्रमण गर्नको लागि तम्तयार देखियो । भोको र रिसाएको सिंहको अनुहार र भावभंगिमा तत्क्षण यत्ति डरलाग्दो थियो कि कसैको पनि सातोपुत्लो उड्न सक्थ्यो । तर सईदले आफ्नो भएभरको साहस बटुले, सिंहको आक्रामक चालको तस्बीर नजिकबाट लिए , कारभित्र फुत्त छिरे र ढोका लगाए ।
सइद भन्छन् “त्यो बेला मेरो सम्पूर्ण ध्यान एक परफेक्ट शटको लागि केन्दि«त थियो ।” उनी सुनाउँछन् त्यो जोखिमपूर्ण अनुभव आफैंमा अवर्णनीय र अतुलनीय थियो । “आक्रामक सिंहलाई नजिक नजिक आएको अनुभव गर्नु अवर्णनीय छ, ” उनले एबीसी न्यूजसंग खुलाए, “म आक्रमक सिंहको भावभंगिमा र चालढालको यत्ति नजिकको साक्षी बनें कि कुनै पनि फोटोग्राफी वा चलचित्रले त्यसको हुबहु बर्णन गर्न सक्दैन ।”
“यो वास्तवमा नै सिंह र मेरो अत्यन्तै नजिकको जम्काभेट थियो, ” उनी थप्छन् । “ त्यसपछिको समय म हाँसिरहें तर म अब फेरी त्यस्तो प्रकारको काम गर्न सक्नेछु भन्नेमा भने विश्वस्त छैन ।”
उक्त डरलाग्दो तर सुन्दर तस्बीर त्यसयता इन्टरनेटको दुनियामा भाइरल भएका छन् ।






