अष्ट्रेलियाबाट ९ अगष्टमा नेपालका लागि उडान भर्ने तयारीमा सिल्क एयर

सिड्नी – स्काईलाइन ट्राभल्सले अष्ट्रेलियामा अलपत्र परेका नेपालीहरुका लागि चार्टर मार्फत उद्धार उडान गर्ने भएको छ । विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड–१९) को असरले समस्यामा परेका नेपालीलाई सिल्क एयरबाट अगष्ट ९ मा उडानले भर्ने तयारी भएको हो ।

स्काईलाइन ट्राभल्सका सञ्चालक सुदिप खनालका अनुसार यो उडान अष्ट्रेलियाका विभिन्न तीन सहर सिड्नी, मेलर्वन, ब्रिजवेनबाट सिंगापुरहुँदै नेपालका लागि हुनेछ । जसको लागि नेपाल सरकारले अनुमति दिइसकेको सञ्चालक खनालले जानकारी दिए । अष्ट्रेलियाको सिड्नी, मेलर्वन, ब्रिजवेनबाट नियमित उडान मार्फत सिंगापुरसम्म तथा सिंगापुरबाट काठमाडौसम्म भने चार्टर उडान हुनेछ ।

उक्त उडानमा १४९ जना काठमाडौमा अवरतण हुनेछन् । विमानको यात्रु क्षमता १६२ भएपनि कोरोना संक्रमणसँग सम्बन्धित सुरक्षा निर्देशिका पालना गर्दा केही कमी संख्यामा उडान भरिनेछ । उक्त उडान सिल्क एयरको बोइङ ७३७–८०० एनजीबाट हुनेछ । उडानमा १२ वटा विजनेश क्लासको सिट भएपनि कोरोना संक्रमण निर्देशिका अनुसार यात्रुलाई सुरक्षित सेवा दिन ९ वटा मात्र प्रयोग गरिनेछ । यात्रुले तल राखिएको उडान तालिकाको समय भन्दा ४ घण्टा पहिले नै विमानस्थल पुग्नुपर्नेछ । यात्रुको कोरोना भाइरस (कोभिड–१९) पीसीआर टेष्ट गरिसक्नुपर्ने भएकाले समयलाई ध्यान दिनुपर्ने स्काईलाइनले बताएको छ ।