अवैध मिर्गौला प्रत्यारोपणमा वडाध्यक्ष, अधिकृत, डाक्टर, वकिल, असई र खरिदारसहित १२ जना पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जानकारी दिएको हो । व्युरोको टोलीले ललितपुरबाट ९ जना र चितवनबाट ३ जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली मानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देवबहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेज टिचिङ अस्पतालका कानुनी सल्लाहकार ४० वर्षका रमेश काफ्ले, अस्पतालका प्रमुख सञ्चालन अधिकृतडा. सुप्रभात श्रेष्ठ, अस्पतालमा कार्यरत डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेशकुमार वर्मा, भक्तपुरका जमुना राजभण्डारी, भक्तपुर जगातीकी रेश्मा राई, ललितपुर वडा नम्बर ३ का वडाध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालयका तत्कालिन खरिदार नवराज केसी र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक नवराज केसी पनि रहेका छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।