भारतीय हेपाहा प्रवृतिविरुद्ध पोर्तुगलका राजनीतिक दलका प्रवासी सङ्गठनहरुद्वारा विरोध तथा भत्सर्ना ।

लिस्बन ।

पोर्तुगलमा रहेका राजनीतिक दलका प्रवासी सङ्गठनहरुले नेपाली भूमीमाथि भारतीय हस्तक्षेपविरुद्ध पोर्तुगलबाट विरोध गरेका छन्। उनीहरुले नेपालमाथिको भारतीय हेपाहा प्रवृतिविरुद्ध संयुक्तरुपमा बिज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् ।

संयुक्त बिज्ञप्तिमा प्रवासी नेपाली एकता मञ्च पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनसम्पर्क समिति पोर्तुगलका कार्यबाहक अध्यक्ष नविन आचार्य, नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा, नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा र नेपाली एकता समाज पोर्तुगलका अध्यक्ष गोमनाथ सुबेदीले हस्ताक्षर गर्दै भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको कार्यको निन्दा गरेका छन् ।

विज्ञप्तिमा नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हरतरहले प्रतिकार र भन्डाफोर गर्न संसारभरका नेपालीहरुलाई अपील गरिएको छ । राष्ट्रियताको पक्षमा भएका विरोध प्रदर्शनहरुमा अनावश्यक बल प्रयोग नगर्न माग पनि गरिएको छ । उनीहरुले तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र भारतीय पक्षले अटेर गरेमा मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

संयुक्त प्रेस विज्ञप्ति

१२ मे २०२०, पोर्तुगल

नेपाली भूमीमाथि भारतीय हस्तक्षेप बन्द गर।

८ मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला-लिपुलेक लिंकरोड निर्माण तथा उद्घाटन गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस अगाडी पनि सार्वभौम नेपालको भू-भाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमाना भित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन गरेको सर्वविदितै छ । ऐतिहासिक तथ्य, दस्ताबेज, प्रमाण तथा सन्धिले नेपाली भूमि हो भन्ने प्रमाणित हुँदाहुँदै पनि उक्त भूमिमा सडक निर्माण र उद्घाटन हुनुले लामो समयदेखी भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टी गर्दछ । यस किसिमको भारतीय रवैयाको हामी कडा शब्दमा विरोध तथा भत्सर्ना गर्दछौं।

सीमा विवाद समाधानका निम्ति आवश्यक कुटनितिक पहललाई लत्याउदै, विश्व नै कोरोना महामारीबाट अक्रान्त भएको बेला यसको निराकरणको लागि आपसी सहयोग र सामूहिक पहल गर्दै अघी बढ्नु पर्ने कठिन समयमा पनि छिमेकीको भूमि माथि गिद्दे दृष्टि लगाउने भारतीय विदेश नीतिको जति नै विरोध गरे पनि कम हुन्छ। पटकपटक यसरी संवेदनशील अवस्थामा सीमा अतिक्रमणलाई निरन्तरता दिनु भनेको भारतीय शाषकवर्गको छिमेकीप्रति गरिने हेपाहा प्रवृति नै हो। त्यसैले भारत र चीन वीच चलिरहेको शैन्य एवं ब्यापारिक प्रतिस्पर्धामा गहिरो भूमिका खेल्न सक्ने सामारिक महत्वको सडक निर्माणका निम्ति नेपाली भूमि अतिक्रमण गर्ने भारतीय कुटिल चाललाई हर तरहले प्रतिकार तथा भन्डाफोर गर्न हामी संसारभरीका नेपालीहरुलाई आह्वान गर्दछौ।

यसै सन्दर्भमा नेपाल सरकारले भारतीय अतिक्रमण विरुद्ध कडा र स्पष्ट रुपमा पहल गर्न जरुरी देखिन्छ। सुगौली सन्धी अनुसारको नेपाली नक्सा सार्वजनिक गर्न नागरिक स्तरबाट गरिएको मागलाई सम्मान गर्दै आफ्नै भूमि भित्र बर्षौ देखि विदेशीले सडक बनाइ रहेको यो अवस्थामा नेपाल सरकारले ठोस पहलकदमी लिएर अन्तराष्ट्रीय स्तरमा लैजान अनुरोध गर्दछौ। साथै राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता माथी हुने सबै प्रकारको हस्तक्षेपको विरोधमा जनस्तरमा स्वस्फुर्त आयोजित प्रदर्शनहरुमाथी अनावश्यक बल प्रयोग नगर्न तथा तत्काल कुटनैतिक पहल गर्दै राष्ट्रिय एकता कायम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौ।