बेलायतको पिटरवरोमा गोर्खा ९१ ले खुवायो २४० स्वास्थ्यकर्मीलाई निःशुल्क भोजन

लण्डन । कोरोना संक्रमणले आक्रान्त बनाएको बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेपाली समुदायले निशुल्क भोजन गराएका छन् । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन नेपाली समुदायले निःशुल्क भोजन गराएको हो । लिंकनशारको वोर्नमा नेपालीद्वारा संचालित गोर्खा–९१ (नाइन्टि वान) ले बर्न र पिटरवरो सिटी अस्पतालमा कार्यरत राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क भोजन गराएको रेष्टुरेन्ट संचालक भीम खनालले जानकारी दिए । संचालक मध्येका भिम खनाल, कृष्ण लुईटेल, प्रमोद ढकाल लगायत रेस्टुरेन्टका सेफहरु धर्म जुक्जाली र सुमित्रा डंगोलको सक्रिय सहभागितामा ताजा स्वस्थ्य भोजन तयारी गरिएको थियो ।

रेस्टुरेन्ट सञ्चालक खनालले कोरोना भाइरसको महामारीमा पनि सकृय रुपमा स्वास्थ्य क्षेत्रमा कार्यरत संघर्षरत स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यले निःशुल्क खाना वितरण गरिएको बताए ।

स्थानिय जीपीले आफ्नो फेशबुक पेजमा लेखेको जस्ताको तेस्तै :

बेलायतको नेपाली डायस्पोरामा समाजसेवी छवी बनाएका रेस्टुरेन्ट सञ्चालक खनाल गुल्मी जिल्ला समाज यूकेका कार्यसमितिका सदस्य तथा पिटरवारो नेपाली समाजका सक्रिय सदस्य एबम सफल व्यवसायी हुन् । रेस्टुरेन्टले विभिन्न चरणमा अस्पतालमा कार्यरत २ सय ४० जनालाई निःशुल्क भोजन वितरण गरिएको हो । समाजको लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर अस्पताल लगायतको क्षेत्रमा नेपाली खाना वितरण गरिएको खनालले लन्डन नेपाल न्यूजलाई बताए ।

बर्नको २ वटा जीपीमा ४०/४० र स्थानिय पिटरवारो सिटी अस्पतालको कोरोना पीडित रहेको वार्डमा रहेका करिब १६० जना स्वास्थ्यकर्मीहरुले नेपाली खानाको स्वाद लिएका थिए । स्वास्थ्यकर्मीहरुको लागि नेपाली परिकार सहितको स्वादिस्ट खानाको प्रवन्ध गरिएको खनालले जनाए । यसै बीच गोर्खा ९१ रेष्टुरेन्टले बेलायत स्थित समस्यामा परेकाहरुलाई समेत परोपकारी गर्दै आई रहेको छ ।