लण्डन ।बेलायतका प्रधानमंत्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिक रुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । आइतबार बेलुका देशवासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमंत्री जोन्सनले आगामी बुधबारदेखि मानिसहरुले घर बाहिर थप व्यायाम गर्न पाउने बताए। उनले आउंदो जुन महिनादेखि प्राथमिक विद्यालयहरु र केहि पसलहरु खुल्ने र जुलाई महिनादेखी होटेलहरु खुल्न सक्ने बताए ।
उनले बेलायत आउने मानिसहरु क्वारेन्टाइनमा बस्नै पर्ने नियम छिट्टै ल्याइने संकेत पनि गरे।बेलायत सरकारले मानिसहरुलाई घर मै बस्नोस् भन्ने संदेशको सट्टा सावधान रहनोस भन्ने संदेश सार्वजनिक गरेको छ। तर स्कटल्याण्डकी प्रथममंत्री निकोला स्टरजनले आफुहरुले घर मै बस्नोस भन्ने सल्लाह नै मानिसहरुलाइ दिने बताएकी छिन् । प्रधानमंत्री जोन्सनले इंगल्याण्डमा बस्ने र घरबाट काम गर्न नसक्ने मानिसहरुले कार्यालयमा गएर काम गर्न सक्ने पनि बताए । तर सरकारले सकभर कम भन्दा कम मानिसहरुले मात्रै सार्वजनिक यातायात प्रयोग गरुन् भन्ने चाहेको छ।
यसैबीच बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सर कियर स्टारमरले प्रधानमंत्रीको वक्तव्यमा स्पष्टता र सहमतिको अभाव भएको बताएका छन् ।






