संविधान बन्ने सम्भावना क्षीण

काठमाडौं, ७ चैत्र  । सहमति हुन नसके प्रक्रिया कि आन्दोलन भन्ने विषयमा चरम उत्र्कषमा बहस पैरवी गरिरहेका प्रमुख राजनीतिक दलले पछिल्लो समय सहजतापूर्वक वार्तामा बस्न समेत अनकनाइरहेको अवस्थाले तत्कालै सहमति हुने सम्भावना न्यून देखिएको छ । दलहरुको यस्तो रस्साकस्सी र गहिरिँदै गएको अविश्वासका कारण सहमति हुन नसक्दा संविधान लेखन प्रक्रिया ठप्प भएको छ । यस्तो अवस्था सिर्जना हुनुलाई कतिपयले फरक राजनीतिक पृष्ठभूमि, दृष्टिकोण र सिद्धान्तलाई नै बाधक देखाएका छन् भने केहीले शीर्ष नेतृत्वको दलीय भागवन्डा र व्यक्तिगत स्वार्थ हो भनेका छन् ।
विगतको दश वर्षे द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरेर विश्वलाई नै चकित तुल्याएर इतिहास रचेका दलका नेताहरु संविधान लेखनको क्रममा हाल देखिएका सामान्य विषयवस्तुलाई किन निक्र्योल गर्न सकिरहेका छैनन् भन्ने कुरामा अहिले जताततै चासो र चिन्ता व्यक्त हुँदै आएको छ । दलहरुबीच हुँदै आएको वार्ता र संवाद गर्ने तौर तरिकालाई विशेषण गर्दा जादु नै भए मात्रै नत्र तत्कालै सहमतिको सम्भावना क्षीण रहेको विभिन्न राजनीतिक दलका तर्फबाट संविधानसभामा प्रतिनिधत्व गर्ने महिला सभासदहरु बताउनुहुन्छ ।
संविधान लेखनको क्रममा दलहरुबीच राज्य पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली कस्तो हुने भन्नेमा मतभेद रहँदै आएको छ । यी चार मध्ये पनि संविधान लेखनलाई अगाडि बढाउने सन्दर्भमा राज्य पुनः संरचना नै निर्णायक मुद्दा बन्दै आएको छ । यद्यपी,सत्तारुढ दल र आन्दोलनरत विपक्षी दल राज्य पुनः संरचनाको विषयमा नाम, सङ्ख्या र सीमाङ्कन गर्ने विषयमा आफूहरु जस्तोसुकै लचकता अपनाउन तयार रहेको अभिव्यक्ति दिँदै आएका छन् ।
तर पनि विवादको चुरो भने राज्य पुनः संरचनामा नै अड्केको अनुमान गर्न सकिन्छ । दलहरुबीच संविधानका अन्र्तवस्तुमा देखिएको विवाद कुन प्रक्रियाका आधारमा टुङ्ग्याउने भन्ने विषयमा तिव्र मतभेदका कारण विगत एक महिनादेखि संविधानसभाको बैठक बस्न सकेको छैन । केही समय वार्ता र संवादलाई छोडेर पानी बाराबारको स्थितिमा रहेका दलहरुबीच छलफल प्रारम्भ भएपनि पछिल्लो दिनमा आशा गरेअनुरुप सम्वाद हुन सकेको छैन ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले केही दिन पहिले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाएर यही चैत ११ गतेसम्म सहमति जुटाउन आग्रह गरिसक्नु भएको छ । सभाध्यक्ष नेम्वाङले लामो समय संविधानसभाको बैठक स्थगित गर्न नसकिने र आफूलाई जनताले पटक–पटक बैठक कहिले बस्छ भनेर सोधेको र त्यसको जवाफ दिन नसकेको भन्दै तत्काल जवाफ दिन शीर्ष नेतालाई आग्रह गरिसक्नुभएको छ । तर पनि प्रमुख दलका शीर्ष नेता औपचारिक संवादका लागि तयार भएका छैनन् ।
यसैबीच, नेकपा(एमाले)का सभासद् रञ्जुकुमारी झा यो समय संयुक्त आन्दोलन गर्ने, धम्की दिने, विद्रोह गर्ने बेला नभएको धारणा राख्नुहुन्छ । मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर संविधान लेखनमा केन्द्रित हुनुपर्नेमा हाल त्यस्तो नदेखिएको बताउँदै उहाँले भन्नुभयो “अहिले त्यस खालको अवस्था देखिदैन, नियत राम्रो भएन न राम्रो परिणाम आउँछ, त्यो आन्दोलनरत दलहरुमा देखिएको छैन ।” प्रधानमन्त्री र दलका केही नेताबीच वार्ता पनि होला, परम्परागत शैलीको वार्ताले अब न त जनतालाई आश्वत पार्न सक्छ न त संविधानको विवादित विषयमा सहमति नै हुन सक्छ ।
एकीकृत नेकपा(माओवादी)का सभासद् आशा कोइराला जादु नै भयो भने छुट्टै नत्र एक दुई दिन सहमतिको सम्भावना देखिँदैन भन्नुहुन्छ । सभासद् कोइरालाले भन्नुभयो ‘‘ सहमति हुन नसक्नुको पछाडि फरक राजनीतिक दृष्टिकोण, सिद्धान्त र पृष्ठभूमि भएका राजनीतिक दल र राष्ट्रभन्दा व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुँदा सहमति गर्ने विषयलाई अप्ठयारोमा पारेको छ ।”
दलित जनजाति पार्टीका सभासद् यशोदाकुमारी लामाकाअनुसार नेताहरुले संविधान लेख्न चाहेका छैनन्, नेताहरुले चाहे भने सहमति हुन सक्छ, तर पाँच सात दिनमा नै हुन्छ भन्ने सम्भावना देखिदैन । मधेसी जनअधिकार फोरम नेपालका सभासद् जन्नतुननिशा धुनियाले सबै जनताको अधिकार स्थापित गर्न सबै दल मिलेर जान सकियो भने संविधान लेखनको काम अगाडि बढ्छ भन्नुहुन्छ । “हालको अवस्था हेर्दा तत्काल सहमतिको सम्भावना देखिदैन । ” उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका सभासद सुजाता परियारले अघिल्लो संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गरिसकिएको अवस्था रहेको र वार्ताद्वारा सबै विषयलाई टुङ्ग्याउने भनिसकेको हुँदा नेताहरुले दलिय स्वार्थभन्दा माथि उठेर काम गरे सहमति हुन समय लाग्दैन भन्नु भयो ।
संविधानसभामा ३१ दलको प्रतिनिधित्व भएकाले तीन दलको सहमतिलाई सहमति मान्न नसकिने तर्क गर्दै नेपाल मजदुर किसान पार्टीका सभासद् अनुराधा थापा मगरले संविधानको अन्तवस्तुमा केन्द्ति भएर छलफल हुनुपर्नेमा आजसम्म त्यो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो अहिले कायम रहेको अवरोध संविधानको अन्तरवस्तुमा कुरा नमिलेर होइन, कुन पद कसले लिने भन्ने दलीय भागवन्डाका कारण समस्या सिर्जना भएको हो ।