एजेन्सी- पाकिस्तानले भारतीय वायुसेनाको त्यो दाबी खारेज गरेको छ जसमा भारतले फेब्रुअरी २७ मा पाकिस्तानको एफ–१६ लडाकू विमान नष्ट गरेको दाबी गरेको थियो ।
पाकिस्तानले सेनाको प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पटक–पटक झुटो बोलिराख्दा त्यो वास्तविक नहुने बताएका छन् ।
सोमबार आधा रातमा ट्वीट गरेर उनले भने, ‘पटक–पटक झुट बोल्दा त्यो साँचो हुँदैन । भारतीय वायुसेनासँग एफ–१६ खसालेको प्रमाण छ भने उनीहरुले त्यो किन पेश गर्दैनन् ? भारतको सीमातर्फ भएको क्षतीबारे पाकिस्तानको मौनतालाई नजरअन्दाज नगरियोस् । वास्तविकता यो हो कि पाकिस्तानी सेनाले भारतका दुई लडाकू जेट विमानलाई खसालेको थियो र यसका पार्टपुर्जा जमिनमा खसेको सबैले देखेका थिए ।’
यसअघि सोमबार भारतीय वायुसेनाले रडारबाट लिइएका केही तस्बिर जारी गरेको थियो ।
यी तस्बिरमार्फत् भारतले पाकिस्तानको त्यो दाबीलाई जवाफ दिएको थियो जसमा पाकिस्तानले २७ फेब्रुअरीमा आफ्नो कुनै पनि एफ–१६ लडाकू विमान नष्ट नगरेको बताएको थियो ।
भारतीय वायुसेनाले त्यतिबेला आफूहरुले पाकिस्तानको एफ–१६ लडाकू विमानलाई खसालेको बताएको थियो ।
इन्डियन एयर फोर्स अर्थात् आइएएफले भारतले पाकिस्तानका एफ–१६ लडाकू विमानलाई खसालेको पक्का प्रमाण भएको दाबी गरेको थियो ।
यद्यपि, एयर वाइस मार्शल आरजीवी कपूरले सुरक्षा र गोपनीयताजस्त शर्तको उल्लंघन हुने भएकाले आइएएफ र सूचना सार्वजनिक नगरिने बताए ।
एयर भाइस मार्शलले भने, ‘रडारबाट लिइएको तस्बिरबाट स्पष्ट हुन्छ कि नियन्त्रण रेखाको पश्चिममा विंग कमान्डर अभिनन्दन वर्तमानको सामना पाकिस्तानको एफ–१६ लडाकू विमानसँग भएको थियो । दोस्रो तस्बिर पाकिस्तानको एफ–१६ लडाकू विमान गायब भएको दस सेकेन्डपछि लिइएको थियो । पाकिस्तानले यही एफ–१७ लडाकू विमान गुमाएको थियो ।’
गत हप्ता अमेरिकी समाचार प्रकाशन फरन पोलिसीले अमेरिकी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले पाकिस्तानलाई जति पनि एफ–१६ लडाकू विमान बेचेको थियो ती सबै सकूशल भएको र कुनै पनि गायब नभएको बताएको थियो ।






