काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसदहरुले मधेस आन्दोलन प्रतिवेदन सदनमा पेस नभएसम्म बैठक चल्न नदिने भन्दै उभिएर विरोध जनाएपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठक सुरु हुनेवित्तिकै ढ्याढ्यापे समयमा बोलेका राजपाका सांसद महेन्द्र राय यादवले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सदनमा पेश गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख महराले त्यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘माननीन सदस्य महेन्द्र राय यादवले उठाएको विषय निकै गम्भीर र विशेष महत्वको विषय रहेको छ । म यो विषयप्रति सदनको विशेष र गम्भीर ध्यानाकर्षण भएको अवगत गराउन चाहन्छु । र म साथ साथै सरकारलाई यस विषयमा विशेष र गम्भीर ध्यानाकर्षण गराउदै आवश्यक जवाफ दिन निर्देशन दिन्छु ।”
मधेस,थरुहट आन्दोलनको सत्य तथ्य छानविन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । राजपाले सो आयोगको अध्ययन प्रतिवेदन संसदमा पेस गर्नका लागि सभामुखको रुलिङ माग गरेको हो ।






