जो फोहोरको डंगुरमा भेटिएका थिए

काठमाडौं । करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो। डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन्।मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो। त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य।

अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्। तर, फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि भविष्यकी आमाको जिम्मेवारी सम्हालेकी छन्, पोखरेलले। बालकको रेखदेख एवं पालनपोषण गरिरहेकी उनी कहिलेकाहीँ राति सुत्न पनि पाउँदिनन्। ‘यसले चिसोभरि सुत्नै दिएन, काखे बानी परेको छ’, उनले भनिन्, ‘बिहान ५ बजे मात्रै एकछिन सुत्छु।’

सुरुमा कालो वर्णका भविष्य सुन्दर भएका छन्। उनलाई श्रीपञ्चमीको अवसरमा पोखरेलले अन्नप्रासन गराइन्। ‘थाहै नपाई पाँच जना बच्चा हुर्काइछु, आफैंलाई पत्यार लाग्दैन’, उनले भनिन्। यतिबेला उनका सात जना छोराछोरी छन्। केही बच्चा सडकमा भेटिएका र केही मानसिक सन्तुलन गुमाएका महिलाबाट जन्मिएका हुन्। दुई जना भने संस्थामै जन्मिएका हुन्।

बच्चाहरूकी आमा बनेकी पोखरेल ‘आमाहरूकी पनि आमा’ हुन्। मानसिक सन्तुलन बिग्रिएका २९ जना महिलाकी पनि उनी आमा हुन्। हुन त ती महिला पोखरेलकै आमासरहको उमेरका छन्। तर, उनीहरू पोखरेललाई ‘आमा’ भनी सम्बोधन गर्छन्। आमाहरूकी पनि आमा बन्न पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन्।

संस्थाले मानसिक अवस्था ठीक नभएका १२ जना पुरुषलाई पनि सहारा दिएको छ। उनीहरू बडिखेलमा बस्छन्। मानसिक अवस्था ठीक नभएकाले प्रत्येक दिन केही न केही समस्या दिन्छन्। महिला र पुरुष एकै ठाउँमा राख्न सक्ने अवस्था नभएपछि १२ जना पुरुषलाई बडीखेलको एक होस्टलमा राखिएको छ। उनीहरूको रेखदेख र खानपिन गराउने जिम्मा संस्थाले लिएको छ।

बालबालिका र महिला राखिएको ठाउँ १३ नम्बर वडामा पर्छ। यहाँको जग्गा मासिक २५ हजार रुपैयाँ तिरेर भाडामा लिइएको छ। चार जना बच्चा विद्यालय जान थालेका छन्। महिलाको दिनहुँ औषधि, मानसिक समस्याको उपचार, खानपिनमा निकै खर्च भइरहेको छ। दाताले सहयोग गरिरहे पनि आर्थिक रूपमा अप्ठ्यारो परेको संस्थाका सदस्यले बताएका छन्। अन्नपूर्णपोष्ट दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *