लण्डन । बेलायतमा एक २२ वर्षीय युवकलाई बलात्कार गरेको अभियोगमा एक नेपालीले १३ वर्षे जेल सजाँय पाएका छन् ।
बेलायतको रेडिङमा गत वर्ष भएको घटनामा दोषी ठहर भएका ४३ वर्षीय देउकुमार लिम्बूलाई रेडिङ क्राउन कोर्टले यो सजाँय सुनाएको छ । सजांयको आधा अवधि लिम्बूले समुदायमै कटाउने अवसर पाउनेछन् ।
रेडिङ क्रोनिकलमा छापिएको खबरअनुसार गत जुन महिनाको ६ तारिखको एकाबिहानै नाइट आउटबाट फर्किने क्रममा साथीहरुसंग छुट्टिएका पीडित युवाले सुरुमा लिम्बूसंग बाटो सोधेका थिए । सोहि मौकाको फाइदा उठाएर अभियुक्त लिम्बूले लर्निङ डिसाबिलिटी ( शारीरिक रुपमा सामान्य तर नयाँ कुरा सजिलै सिक्न नसक्ने ) भएका ती युवालाई जबरजस्ती नजिकैको खेलमैदानमा लगेर पटकपटक यौनसम्पर्क राखेका थिए ।
अदालतमा बयानको क्रममा लिम्बूले सहमतिमै यौनसम्पर्क राखेको बताउंदै गल्ती स्वीकार गर्न अस्वीकार गरेका थिए । तर पीडित युवाले उपलब्ध गराएको प्रमाण र सिसीटिभी फुटेजलाई आधार बनाए अदालतले उनलाई दोषी ठहर गरेको थियो ।लिम्बूको सजाँय सुनाउंदै अदालतकी न्यायधिसले अभियुक्तले नियतवश नै घटना घटाएको उल्लेख गरेकी थिइन् ।
घटना भएको २ दिनपछि नै लिम्बूलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो । अदालतमा दिएको बयानअनुसार लिम्बूका श्रीमती र एक १७ वर्षीय छोरा समेत छन् । तर उनीहरु सन् २०१७ देखि हंककंगमा बस्दै आएका छन् । अभियुक्त लिम्बूले श्रीमतीसंगै घरबार गरेर बसेपनि विगतदेखि नै बाहिरी रुपमा पुरुषहरुसंग समेत यौनसम्बन्ध राख्ने गरेको आएको ठानिएको छ ।






