वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि बजेट पारित नभएसम्म सीमा बन्द गर्ने चेतावनी दिएका छन् ।
‘बजेट पारित नभए सीमा बन्द’ – ट्रम्प
ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माणका लागि तत्काल ५ अर्ब डलर बजेट पारित गर्न माग गर्दै आएका छन् । तर उक्त योजनामा डेमोक्रयाटहरूले सहमत नभएपछि अमेरिकी संघीय कार्यालय आंशिक रूपमा बन्द छन् ।
ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा मेक्सिको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । तर डेमोक्रयाट सांसदहरूले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेको बाहेकको बजेट मात्र पारित गर्ने जनाएका छन् ।
‘डेमोक्रयाटहरू ट्रम्पको अनैतिक, अप्रभावकारी र खर्चिलो पर्खाल निर्माणको विपक्षमा छन्,’ हाउस अफ रेप्रिजेन्टेटिभ्सकी डेमोक्रयाट नेता न्यान्सी पेलोसीका प्रवक्ताले भने ।
ट्रम्पले मध्य अमेरिकी देशका आप्रवासी रोक्न सीमा बन्द गर्ने चेतावनी दिँदै आएका छन् । उनको पछिल्लो चेतावनीबारे मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले उक्त विषय ‘अमेरिकी सरकारको आन्तरिक मामिला भएको’ प्रतिक्रिया दिए ।
उनले भने, ‘निश्चय नै, हामी हाम्रो सम्प्रभुताको प्रतिरक्षा गर्छौं । हामी आप्रवासी र उनीहरूको मानव अधिकारको संरक्षण गर्छौं ।’ यसअघि ट्रम्पले ‘पर्खाल बनाउनुको कुनै विकल्प नभएको’ बताएका थिए । ट्रम्पको अड्डीका कारण संघीय निकायमा बजेट अभावले ९ मन्त्रालय मातहतका विभाग र दर्जनौं कार्यालयमा लगभग काम ठप्प छ ।
करिब ४ लाख २० हजार कर्मचारीबिना काम गर्न बाध्य भएको जनाइएको छ भने ३ लाख ८० हजारलाई बेतलबी बिदा दिइएको छ । तर डेमोक्रयाटहरूले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राख्दै आएका छन् ।






