शिब भण्डारी
लन्डन । सहारा यूके १० वर्षमा प्रवेश गरेको छ ।
१० औं वार्षिकोत्सव शनिबार विशेष कार्यक्रम गरेर भब्य रुपमा मनाइएको छ । अल्डरसटको एम्पायर ब्यांकेटिङ हलमा वार्षिकोत्सव मनाइएको हो ।
बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टी, स्थानीय काउन्सिलरहरु, ह्याम्पशायर फुटबल एशोसिएसन तथा अल्टरसट फुटबल क्लबका अध्यक्षहरु, सहारा पोखराका अध्यक्ष केशबबहादुर थापा लगायतका अतिथिहरु सहभागी थिए । कार्यक्रमको अध्यक्षता सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ (साइँला) ले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवदीले सहारा यूकेले खेलकुदमात्रै नभएर मानवीय सेवाको कामसमेत गरेको भन्दै खुसी व्यक्त गरे । विशेष अतिथिकारुपमा अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टीले नेपाली समूदायले कला संस्कृति संरक्षणका लागि गरेको कार्य सम्झनयोग्य भएको बताए ।

वर्षेनि च्यारिटी कार्यक्रम गर्दै आएको सहाराले यसपटक पनि वार्षिकोत्सवसहितको च्यारिटी कार्यक्रम गरेको हो । वार्षिकोत्सवको अवसरमा संस्थालाई यहाँसम्म आउन योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 


कार्यसमितिभित्रबाट महासचिव कृष्ण गुरुङलाई ‘सहारा यूके अवार्ड’ प्रदान गरियो भने सल्लाहकारहरुबाट मञ्जु गुरुङलाई ‘स्पेसल अवार्ड’ पनि दिइएको छ १० औं वर्ष पुगेको अवसरमा संस्थामा योगदान गर्नेहरुलाई ‘प्रेसिडेण्ट एप्रिसिएसन अवार्ड’ पनि वितरण गरिएको छ । कार्यक्रममा संस्थाको स्मारिका विमोचन गरिएको छ ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा इभेन्ट कोअर्डिनेटर तथा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्यसहित सहारा यूकेका दशक अवधिका गतिविधि समेटिएको एउटा वृत्तचित्र देखाए ।

कार्यक्रममा नेपालबाट आएका तथा बेलायतकै स्थानीय कलाकारहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा डिजे डान्स, आकर्षक पुरस्कारसहित राफल ड्र पनि गराइएको छ । 







सन् २००८ मा स्थापना भएको सहारा यूकेले नेपाल तथा बेलायतमा खेलकुदको विकासलाई केन्द्रित गरेर विभिन्न कार्यहरु गरेको छ ।






