अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा भइरहेको जी–२० देशको सम्मेलनमा साउदी युवराज मोहम्मद बिन सलमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै खुसी भएर हात मिलाउँदै गरेको देखिए ।
दुबै नेता वैश्विक आर्थिक चुनौतीका विषयमा शुक्रदेखि आयोजना भइरहेको बैठकमा आफ्नो उपस्थितीका लागि पुगेका थिए ।
साउदी पत्रकार जमाल खासोग्गीको हत्यापछि केही देशले साउदीमाथि प्रतिबन्ध गरेको छ तर अहिले पनि केही देशको समर्थन यथावत् छ ।
पुटिनले साउदीका युवराजलाई हाई फाइभ स्टाइलले हात मिलाउनुलाई रुसको साउदीमाथि निकै बलियो समर्थन रहेको भनेर देखाउन खोजिएको विभिन्न मिडियाले बताएका छन् ।
उक्त बैठकमा शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिकाका छिमेकी मेक्सिको र क्यानडाबीच एक महत्वपूर्ण क्षेत्रीय व्यापार सम्झौता पनि भयो ।
ट्रम्पले चीनियाँ राष्ट्रपतिसँग भेट हुने सम्भावना पनि व्यक्त गरे । यतिबेला अमेरिका–चीन व्यापार युद्धलाई सुल्झाउने विषयमा सहमती हुनसक्ने अडकलबाजी गरिएको छ ।
उनले भने, ‘यदि हामी कुनै सम्झौतामा पुग्न सक्यौं भने त्यो राम्रो हुनेछ किनभने मलाई लाग्छ कि हाम्रो चाहना पनि यही हो । यो कुराको राम्रो संकेत पाइरहेको छु ।’
एजेन्सी






