नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाइ श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरुविरुद्ध आरोपत्र दायर गरेको हो ।

नक्कली कागजात बनाइ श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा कार्यरत् शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

सोही कार्यालयका नायब सुब्बा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री र केशवराज ढुंगानाले गलत लगत खडा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको आयोगले जनाएको छ ।

त्यस्तै, कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाहीविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।

राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत कागजात संलग्न गरी श्रम स्वीकृति लिने/दिलाउने कार्यमा सहयोगी मतियारको काम गरी/गराइ सोबाट आफूलेसमेत आर्थिक लाभ लिने/खाने कार्यमासमेत सहयोगीको भूमिकामा रहेका राजीवकुमार पञ्जियार र विकास थापाविरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ ।

विचौलियाको मिलेमतोमा बिनाप्रवेशाज्ञा एवं गलत कागजातमा श्रम स्वीकृति (स्टिकर) प्रदान गरेको भन्ने उजुरीका आधारमा आयोगले २०७४ भदौ ९ देखि कात्तिक ८ गतेसम्म उक्त कार्यालयबाट प्रदान गरिएको श्रम स्वीकृतिलगायतको विवरण अनुसन्धान गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि ती कर्मचारीको भूमिका शंकास्पद देखिएको भन्दै मन्त्रालयले उनीहरुलाई अन्यत्रै सरुवा गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *