दिल प्रसाद पौडेल

वास्तविकता भन्दापनी अलि पर कल्पनाको दुनियाँमा हराउछ मन । उदाशिन हुन्छ , बिरह र चित्कारका घुम्तीहरुमा आशाका पालुवाहरु मुस्कुराउछन । बिक्षिप्त बनेका परेलीका डिलबाट अश्रुसागर बगिरहन्छ ।सोच्छु यस्तै रहेछ जिन्दगी । भावावेशमा रुमलिएर भुइँमा हेर्दै खुट्टाको बुढी औंलाले माटो कोट्याउदै रुदै गर्छु ।गाउँको परिवेश अनि पृष्ठभुमिलाई सपनामा उतार्छु र बिउझिन्छु झल्यास्स । फेरि कल्पनाका रश्मीहरु मेरो मानसपटलमा ठोकिन्छन , भक्कानिएर रुन्छु ।बिदेश पस्दा पस्दै दशैं मान्न नपाएको पनि दशक बितिसकेछ ।सदियौ देखिका इष्ट्मित्र , दाजुभाई पनि बिराना भए झैं लाग्छ यस्तै यस्तै ज्वारभाटा हरु मनमा उब्जिरहन्छन ।
असत्यमाथी सत्यको बिजय बडादशैं हामी सबैको घरआंगनमा प्रवेश गरिसकेको छ । बारीका कांल्लाहरु , डिलहरुमा मखमली र सयपत्री फुलहरुले स्वागत गरिरहेका छन । भित्तामा टांसेका भवानीका तस्विरहरुले आशीर्वाद दिन हतार हतार गरिरहेका होलान । अस्ति भर्खर छरेका जमराका पालुवाहरुले बिस्तारै रंग फेर्दैहोलान । केराको पातले मकै , जौ , तिलसंग बहस गर्दै छ होला । पबित्र माटोले जन्माएका मुनाहरुको अवशानको बाटो कुरेर समय पर्खिरहेको छ । रातो माटो र कमेरोले विवाहमा सिंगारिएकी दुलही जस्तै चिटिक्क पारेका घरले मेरो आगमन को प्रतीक्षा गरिरहेको होला । केटाकेटी हरु गाउँभरी बाबियो बटुलेर लट्ठो बाट्दैहोलान भने बयस्कहरु चर्खे पिङ बनाउन जुटिरहेका छन होला । तितेपातीले मख्ख हुँदै आफ्नो सुवास छर्न बगर किनारासंग आफ्नो शिर झुकाउदै बिन्ती गरिरहेको होला । खोल्सामा रहेको सिस्नोको गांजमाथी झुसिल्किराकरु समुन्द्रको पानीको छाल जसरी तैरिरहेका छन होला यतिखेर । चराचुरुङ्गीले गुंड भित्रबाट बचेराहरुलाई दशैं आएको खबर सुनाउदैहोलान । कागहरु खुशी हुँदै तिहार आएको संकेत गराउदै छन । बुढा बा ले आंगनको डिलमा बसेर मेरो बाटो हेर्दै भट्मासका कोसाहरु केलाईरहनुभएको छ होला । बुढी आमाले सकिनसकी गाग्री बोकेर पधेरीमा पानी भर्न हतारिनुहुन्छहोला सांझ बिहान । सिमसारमा खोले र जलुकाका मुन्टाहरु आक्रोशित भएका छन मलाई भुल्यो कि भनेर । शितका थोपाहरुले बिहानपख सुर्यका किरणसंग अंकमाल गर्दै चिसो सिरेठो संग भलाकुसारी गर्दै छ होला आखिर यस्तै रहेछ प्रवासको जिन्दगी बाध्य भएर जिउनुको पीडा ।
यहाँ त केवल काम गर्‍यो , खाना खायो अनि सुत्यो नित्यकर्म दोहोरिईरहन्छ । बांकी यादहरु गाउँघरसंग समर्पित बन्दोरहेछ । हजारौ चुनौतीसंग संघर्ष गर्दै पसिनासंग पैसा साट्नुको बिकल्प रहेनछ । कंटाकिर्णमय जिन्दगीको क्यानभाषमा क्रन्धित स्वरहरु गुनगुनाउदै आंखाभरी आँसु अनि बेदनाका पोका बोकेरै बांच्नुपर्दोरहेछ । उमङ्गको समयमा पनि रोदनका ज्वारभाटाहरु झनझन मौलाउदारहेछन । जीवन अनि मृत्युको दोसांधमा अल्झिएको एक्लो शरीर बांचिरहेको छ खाडीको खोरभित्र । दुरदराजमा खोज्नुपर्ने भएको छ गाउँले , इष्टमित्र , साथीभाईहरु । कारुणिक पलहरुमा साथ दिने जिवनसंगिनी संग अलग्गिएर अनि भर्खर पलाएको सन्तानको खुशीसंग जबर्जस्ती पीडा झेल्नुपर्दोरहेछ । सुनौलो भविष्य सिङ्गार्ने चाहानाका लगामहरु जति तानेपनी गन्तव्य चाहिँ फरक हुदोरहेछ । भावुक बनेर दशैं तिहार आउदा सबैसंग सन्चै छु भन्नैपर्ने रहेछ आफ्ना ब्यथाहरु गुम्साएरै भएपनी । अतितका पानाहरु एकपछी अर्को गर्दै चलचित्रको पर्दामा झैं आँखा वरिपरि नाचिरहन्छन । बिस्मादताले पुर्‍याएको गहिरो घाउ कोसेली स्वरुप उपहार मिलेको छ । आशातित सफलता प्राप्तीको लागि कैयन प्रयास गर्दा पनि असफल हुनुपर्दोरहेछ यहाँ ।
फेसबुकका वालहरुमा सन्देश हरु हेर्दा दशैं आएको महशुस गराउछ । गाउँघर अनि आफन्तको याद दिलाउछ । म जस्तै प्रदेशमा बस्नेहरुलाई फेरि एकपटक चिन्तित गराउछ । वास्तवमै पिडासंग परेली रुझाएरै झलझली यादको पोखरीमा चुर्लुम्म डुबुल्की मार्दै यसपालीको यो दशैंमा घर आउन नपाएपनी अर्को बर्ष अवस्य आउने बाचा गर्दै परिवार , इष्टमित्र , दाजुभाई अनि परदेशी आत्माहरुलाई सम्हालिएर बस्न आग्रह गर्दै सबैमा सुख , शान्ती , समृद्धि अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै चलिरहेको कलम यहि बन्द गर्ने अनुमती चाहान्छु ।धौलागिरी गतिबिधि

फेसबुक कमेन्ट