कांग्रेस कार्यकर्ताको सुझाव- ‘धनप्रिय होइन, जनप्रियलाई ठाउँ देऊ’

कांग्रेसका तल्ला तहका नेता–कार्यकर्ताले ‘धनप्रिय’भन्दा ‘जनप्रिय’ले ठाउँ पाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले पार्टीका संरचनामा नै यस्तो व्यवस्था गर्न जोड दिएका हुन् ।

पार्टीमा निरन्तर दु:ख गरेका क्रियाशील नेता तथा कार्यकर्ताले भन्दा जग्गा दलाली, ठेकेदार र पैसावालहरूले प्राथमिकता पाउने क्रम बढ्न थालेको गुनासो पनि कार्यकर्ताले गरेका छन् ।

यसलाई रोक्न विधानमै कडा व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

विधान संशोधनमा सुझाव लिन कांग्रेसले असोज ८ देखि १२ सम्म सात प्रदेशका १२ स्थानमा अन्तक्र्रिया गरेको थियो। विराटनगर, इलाम, जनकपुर, वीरगन्ज, काठमाडौं, धुलिखेल, पोखरा, बागलुङ, भैरहवा, दाङ, सुर्खेत र धनगढीमा भएका अन्तर्क्रियामा अधिकांश नेता तथा कार्यकर्ताको मुख्य जोड नै पार्टीभित्र यस्ता गलत प्रवृतिको अन्त्य हुनुपर्नेमा केन्द्रित थियो ।

धनगढी र सुर्खेतको अन्तक्र्रियामा सहभागी कांग्रेस केन्द्रीय सदस्य एवं विधान संशोधन समितिका सदस्य प्रदीप पौडेलका अनुसार कार्यकर्ताहरूले इमानदार र क्रियाशील कार्यकर्ताभन्दा आर्थिक चलखेल गर्न सक्ने ‘पैसावाल’ ले पार्टीमा प्राथमिकता पाउन थालेको गुनासो गरेका थिए ।

उनीहरूले पार्टीका शीर्ष नेताहरूको आर्थिक सहयोगी बनेर नेताहरूलाई हिडाउने, विदेश जाँदा टिकट दिने, जिल्ला जाँदा खुवाउनेहरूले अवसर पाउन थालेको भन्दै त्यसलाई विधानमै व्यवस्था गरेर रोक्न माग गरेको पौडेलले बताए ।