एनआरएन यूकेको अर्को सफलता, सुरु गर्‍यो अनलाइन सदस्यता वितरण अभियान(भिडियो सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको एक वर्ष पुरा भए संगै अनलाइन सदस्यता  वितरण अभियान सुरु गरेको छ ।

आइतबार लण्डनको प्लमस्टिडस्थित गोर्खा क्लबमा आयोजित पत्रकार सम्मेलनमा एनआरएन यूकेले आफ्नै वेबसाइटबाट अनलाइन सदस्यता वितरणको कार्य सुरु गरिएको घोषणा गरेको हो ।

अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक तथा एनआरएन यूके उपमहासचिव विनय अधिकारीले ‘डिजिटल एनआरएन’ निर्माण अभियानको पहिलो चरणमा अनलाइन सदस्यता वितरण सुरु गरिएको बताए ।

यहि अभियानअन्तर्गत भविष्यमा क्रमिक रुपमा अनलाइन भोटिंग हुंदै व्यवसायहरुको विज्ञापनका लागि अनलाइन प्लेटफर्म विकास गर्नेसम्मका योजनाहरु रहेको संयोजक अधिकारीले सुनाए ।

त्यस अवसरमा संयोजक अधिकारीले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत एनआरएन सदस्यताको औचित्य र महत्वबारे प्रष्टाएका थिए । उनले अनलाइन सदस्यताका लागि फारम भर्र्ने विधि र प्रक्रियाबारे एक छुट्टै भिडियो प्रिजेन्टेसन समेत गरे ।

कार्यक्रममा एनआरएन यूकेका प्रवक्ता रमेश सरांगकोटीले अनलाइन सदस्यता वितरण एक परिक्षणको रुपमा सुरुआत् गरिएको भन्दै यसको मुल्यांकनपश्चात भविष्यमा थप फिचरहरु थप गरिने लक्ष्य राखिएको जनाए । अनलाइन व्यवस्थाको अभ्यासपछि विगतमा सदस्यताको फारम संकलन, परिचयपत्र वितरण लगायतमा देखिदै आएका समस्याहरु हट्ने विश्वास उनले व्यक्त गरे ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले अनलाइन सदस्यता वितरणले यसअघि विकृतिका रुपमा देखिएको निर्वाचनकेन्द्रित सदस्यता वितरणको परम्परा अब तोडिने आशा व्यक्त गरे । सरल र सहज प्रक्रियामा सस्तो शुल्कमा संस्थाको सदस्यता वितरण हुने भएकाले अनलाइन व्यवस्था प्रभावकारी हुने अध्यक्ष फगामीको विश्वास छ ।

एनआरएन यूके उपाध्यक्ष तथा सदस्यता वितरण विभागका संयोजक शेर सुनारले आगामी वर्ष संस्थाको सदस्यता १० हजार पुर्याउने लक्ष्य राखिएको भन्दै अहिले सुरु भएको अनलाइन व्यवस्थाले सो लक्ष्य प्राप्तिलाई थप सहज बनाउने आशा व्यक्त गरे ।

कार्यक्रममा एनआरएन यूकेका निवर्तमान कार्यसमितिका कोषाध्यक्ष दिपक श्रेष्ठ, सचिव फडिन्द्र भट्टराई र प्रवक्ता खुशी लिम्बूले अनलाइन सदस्यता वितरणको कल्पना अघिल्ला कार्यसमितिहरुले पनि गरेको स्मरण गराउंदै अहिलेको कार्यसमितिले यसलाई मुर्त रुप दिएकोमा बधाई तथा सफलताको शुभेच्छा प्रकट गरे ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ अध्यक्ष फगामी, उपमहासचिव अधिकारी, प्रवक्ता सरांगकोटी र कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले दिएका थिए ।

आज औपचारिक शुभारम्भ गरिएको व्यवस्थामार्फत अब एनआरएन यूकेको सदस्यता लिन चाहनेहरुले संस्थाको वेबसाइट www.nrnauk.org मार्फत अनलाइन फारम भर्न र शुल्क बुझाउन सक्नेछन् । त्यसक्रममा सदस्यताको लागि लाग्ने शुल्क क्रेडिट / डेबिट कार्ड वा पेपालबाट अनलाइनमै बुझाउन सकिने व्यवस्था छ ।

अनलाइनमा सदस्यता फारम भर्दा सदस्यहरुको नाम, बेलायतमा बसोबास गर्ने तथा नेपालको स्थायी ठेगाना, पेशा, उमेर, लगायतका विभिन्न जानकारीहरुसहितको तथ्यांक संस्थासंग रहनेछ ।

यसरी अनलाइनमार्फत सदस्यता फारम भर्नेहरुको सदस्यता स्वीकृतिको प्रक्रिया पनि विगतको भन्दा निकै छोटो हुने बताइएको छ । यसअघिको व्यवस्थामा सदस्यहरुको परिचयपत्र एनआरएन आइसिसीबाट जारी हुने गरेकोमा अब एनसिसी यूकेबाटै परिचयपत्र वितरण गर्दा यसका लागि लाग्ने समय र झञ्झट दुवै घट्नेछन् ।

यसअघि मुछेत्र गुरुंग नेतृत्वको कार्यसमितिले पनि एनआरएन आइसिसीकै प्रक्रियाअनुरुप अनलाइनमार्फत सदस्यता फारम संकलन गरेको थियो । तर यसपटक एनआरएन यूकेले आफ्नै वेबसाइटमा आवश्यक सफ्टवेयर विकास गरेर अनलाइन सदस्यता वितरणको व्यवस्था पहिलोपटक सुरु गरेको हो ।

एनआरएन यूकेलाई डिजिटल बनाउने क्रमको यो पहिलो चरणमा अनलाइन सदस्यता वितरणसम्मको चरणका लागि ५ हजार ४ सय पाउण्ड खर्च गरिएको जानकारी एनआरएन यूके अधिकारीहरुले दिएका छन् ।

हेर्नुहोस उपमहासचिव विनय अधिकारी के भन्छन् तयारीबारे कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा-प्रधान सम्पादक शिब भण्डारी एबं प्रकाश कंडेलले तयार पारेको स्थलगत भिडियो रिपोर्ट —