लन्डनमा सपना माताको आध्यात्मिक प्रवचनले,मन्त्रमुग्ध भए व्रतालू :-

मञ्जु भण्डारी

लण्डन । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष आयोजना गर्दै आएको तीज बिशेष कार्यक्रम यस वर्ष पनि गत बुधबार भब्य रुपले सम्पन्न गरेको छ ।

साउथ ईस्ट लन्डनको प्लमस्टेडस्थित नेपाली पशुपतिनाथ मन्दिरमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचन साधिका विदुषी माता सपना देवी श्रेष्ठले तीजका अवसरमा भएको कार्यक्रममा विशेष प्रवचन दिनुभएको छ ।

वाचन साधिका विदुषी माताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँ आकर्षकको केन्द्रमा रहनुभएको थियो । माता श्रेष्ठका सहयोगी एवं देश तथा विदेशमा वैदिक सनातन धर्मको प्रचारप्रसार कार्यक्रम संयोजन र व्यवस्थापनमा अब्बल  केदार तिमल्सिनाले भजन प्रस्तुत गर्नुभएको थियो ।

नेपालकै प्रथम भागवत वाचिका माता सपनादेवी श्रेष्ठको भजनमा भक्तजनहरु भावमा डुबेका थिए ।

हरितालिका तीजको दिन पशुनाथ मन्दिरको आयोजनामा एसियन कम्युनिटी हलमा नेपाली महिलाहरुको उपस्थितिमा तीज कार्यक्रम मनाइएको हो । सयौं ब्रतालु महिलाहरुले अपरान्हदेखि नाचगान तथा पूजाआजा गर्दै नेपाली महिलाहरुको धार्मिक पर्व तीज मनाए ।

कार्यक्रममा पण्डित निलहरि घिमिरे तथा दधिराम काफ्लेले तीज महिमा प्रवचन गर्नुका साथै पूजाआरती गर्नुभएको थियो ।

समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा उपाध्यक्ष नरेन्द्र कँडेलले उपस्थित महिलाहरुलाई स्वागत गर्दै तीजको शुभकामना दिनुभयो । महासचिव डासु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वयंसेवी सरिता पौडेल तथा ट्रस्टी तारा भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा रातै साडीमा सजिएका महिलाहरु नाचगानमा सहभागी भएका थिए ।

कार्यक्रममा पशुपतिनाथ मन्दिरलाई सहयोग तथा योगदान पुर्‍याउन खुत्रुके रकम संकलन गर्ने बालक दिप्तान्सु श्रेष्ठ र लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारीलाई सम्मान गरिएको थियो ।

झन्डै सात सय महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा डिजे हेम विष्टको तीज संगीतमा सहभागीहरु झुमेका थिए ।

युरोपमै नेपालीहरुबाट स्थापित पहिलो यो मन्दिर प्रवासमा नेपाली संस्कार र परम्पराको बिडो थाम्नको लागि, पुजा आजा र अध्यात्मिक चिन्तन मननको लागि प्रख्यात छ । नेपाली मौलिकता बोकेको मन्दिर लन्डनमा स्थापना भएर सञ्चालनमा आउनु हरेक नेपालीको लागि प्राथमिकरुपमा गौवको विषय बनेको छ ।तस्बिर:गुणदेब घिमिरे