लण्डन। बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरुले तीज कार्यक्रम सम्पन्न गरेका छन् । शान्ति नेपाली समाज बेलायतको आयोजनामा तीजगीत प्रतियोगिता र नेपालबाट आएका राष्ट्रिय कलाकारको प्रस्तुतिसहित कार्यक्रम गरिएको हो ।
बर्मिङहमको ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिङ हलमा संस्थाका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनोरञ्जनका साथसाथै मौलिक तीजका भाकाहरु पनि गुञ्जिए ।
बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालबाट राष्ट्रिय कलाकार ल्याउने प्रचलन अहिले निकै नै बढेको छ । अचेल सबैजसो कार्यक्रममा कलाकार ल्याउने मात्र होइन, कतिमा त कलाकारकै भिड नै जम्मा गराउने गरेको पनि देखिन्छ । कलाकारहरु जम्मा गराउनु त ठिकै छ, तर कार्यक्रमको सन्दर्भ भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा कलाकार बोलाउने र नबोलाउने प्रवृत्ति पनि हाबी हुंदै गएको छ ।
बेलायतका आयोजकहरुमा बढ्दै गएको यहि प्रवृत्ति देखियो गत सोमबार बर्मिङहममा । शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको तीज कार्यक्रममा झण्डै आधा दर्जन राष्ट्रिय कलाकारहरु स्टेजमा उत्रिए । कार्यक्रमका लागि भन्दै आयोजक संस्थाले नेपालबाट २ जना गायिका बेलायत ल्याएको थियो । धेरैजसो कार्यक्रममा कलाकारहरु ल्याउंदा गायक र गायिका ल्याइने गरेपनि यो कार्यक्रममा भने दुवै गायिका ल्याइएको थियो । तीज कार्यक्रमकै लागि भएपनि अचेल पुरुष कलाकारले पनि महिला कलाकारले जत्तिकै तीजगीत गाउने गरेको परिप्रेक्ष्यमा गायक , गायिका नल्याएर दुवै गायिका मात्रै ल्याउने आयोजकको मनसाय कतिपय स्थानीयहरुले नै बुझ्न सकेनन् । कतिपयले कार्यक्रमको सन्दर्भ भन्दा पनि व्यक्तिगत निकटताका आधारमा कलाकार ल्याइएको अनुमान गरे ।
नेपालबाट २ जना गायिका कला लम्साल र सिर्जु अधिकारीलाई बेलायत बोलाएका आयोजकले फेरि बेलायतमै रहेका २ गायकहरु बिमलराज क्षेत्री र रमेशराज भट्टराईलाई पनि थपे । कार्यक्रमको केहि समयअघि सम्म पनि ४ कलाकारको नाम राखेर खुबै प्रचारप्रसार गरियो । तर कार्यक्रम सुरु हुने बेलासम्म नेपालबाट केहि दिन अघि मात्रै आएकी अर्की गायिका कला पंगेनीलाई समेत थप गरियो । त्यसै त सुरुमै ४ जना कलाकार । त्यसमाथि ६ टिमको तीजगीत प्रतियागिता र स्थानीय डेढ दर्जन बालबालिकाको नृत्यहरु । यतिले नपुगेर पांचौं कलाकार समेत थप गरे आयोजकले । यसरी अन्तिम समयमा आवश्यकता बिना पनि कलाकार थप हुनु व्यक्तिगत सम्बन्धबाहेक अरु केहि देखिदैन । कार्यक्रममा धेरै कलाकार भएको कारणले गर्दा न त सबै कलाकारले पर्याप्त समय प्रस्तुति गर्न पाए न त दर्शकले नै आफ्ना मन पर्ने कलाकारको प्रस्तुति भनेजसरी हेर्न पाए ।
कलाकार बोलाउने प्रक्रियामा मात्र नभएर नबोलाउने पाटोमा पनि आयोजकको व्यक्तिगत पूर्वाग्रह हावी देखियो । सोमबार शान्ति समाजको कार्यक्रम हेर्न भेला भएका भनिएका ८ सय दर्शकमध्ये आधा भन्दा निकै बढि गुल्मेलीहरु थिए । सो क्षेत्रमा धेरै गुल्मेलीहरुको बसोबास छ ।
तीजका भाकाहरु गाउन नेपालबाट आएका कलाकारहरु बिमलराज क्षेत्री, रमेशराज भट्टराई, कला पंगेनी, कला लम्साल र सिर्जु अधिकारी लगायत थुप्रै कलाकार बटुलेर कार्यक्रम गर्न थालेपछि हामीहरुले अहिले बेलायतमै रहेकी हाम्रै गुल्मेली गायिका सुशिला गौतमलाई पनि बोलाइदिन आग्रह गर्दा ४ जना कलाकार भइसके भनेर मानेनन् । तर पछि कार्यक्रमका दिन अरु कलाकार पनि थप गरेछन्, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने ।
यस विषयमा बुझ्न लण्डननेपाल न्यूजका प्रधानसम्पादक शिव भण्डारीले आयोजक संस्थाका अध्यक्ष कृष्ण ढकालसंग टेलिफोन सम्पर्क गर्दा उनले स्पष्ट जवाफ दिन सकेनन् । कलाकारले आफुलाई सम्पर्क नगरेको कारण आफुहरुले पनि नबोलाएको उनले बताए ।
कार्यक्रम हेर्न मिडल्याण्डका लेस्टर, नटिङहम, वुल्भरह्याम्पटन लगायतका क्षेत्रका साथै लण्डनबाट समेत दर्जनौं गरी करिब ८ सय दर्शक भेला भएका थिए । नेपाली महिला हरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा बेलायतका बिभिन्न शहरहरुमा तीज कार्यक्रम हरु दिनहुँ जसो आयोजना हुने गरेका छन ।तस्बिरहरु :(टिका अधिकारी स्कट- नेपाल)






